राज्यकोष लुट्ने विकलको डिजाइनमा सुरू भएको इम्बोस्ड नम्बर प्लेटमा अख्तियार पस्यो


काठमाडौं । आइटी माफिया विकल पौडेलको डिजाइनमा राज्यकोष लुट्ने प्रपञ्चमा साथ अगाडि बढाइएको इम्बोस्ड नम्बर प्लेटको ठेक्कामा अख्तियार पसेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इम्बोस्ड नम्बर प्लेट खरिदमा विस्तृत अनुसन्धान थालेको हो ।

ओम्नीका मतियार विकल पौडेलले इम्बोस्ड नम्बर प्लेटमा चलखेल गरेको तथ्य स्वास्थ्य लाइभले सार्वजनिक गरेपछि अख्तियारले विस्तृत छानबिन थालेको हो । अकुत सम्पत्ति आर्जनको अनुसन्धानमा अख्तियारको हिरासतमा रहेका विकलमाथि इम्बोस्ड नम्बर प्लेटमा पनि थप छानबिन सुरु भएको छ ।

अख्तियारले यातायात व्यवस्था विभागसँग डेकाटुर इन्डस्ट्रिज इन्कर्पोरेट नामक कम्पनीलाई शुरुदेखि हालसम्म दिएको सम्पूर्ण भुक्तानीको विवरण मागेर विस्तृत छानबिन थालेको छ । इम्बोस्ड नम्बर प्लेट खरिदसम्बन्धी अन्तर्राष्ट्रियस्तरको बोलपत्रमा निश्चित कम्पनीलाई लाभ पुऱ्याउने उद्देश्यले लागत अनुमान तथा स्पेसिफिकेसन तयार गरेको विषयमा केन्द्रित भएर अख्तियारले छानबिन थालेको हो ।

इम्बोस्ड नम्बर प्लेटको ठेक्का सम्झौता तथा भुक्तानी प्रक्रियामा संलग्न यातायातका धेरै महानिर्देशक र प्राविधिक तथा लेखाका कर्मचारी भ्रष्टाचारमा डामिने देखिन्छ । मेडिकल उपकरण खरिद घोटालामा मुछिएको ओम्नी कम्पनीका कर्मचारी समेत रहेका विकल पौडेल नेपालमा इम्बोस्ड नम्बर प्लेट प्रणाली भित्र्याउने डिजाइनर हुन् । राष्ट्रिय सूचना प्रविधि केन्द्रका उपनिर्देशकको हैसियतमा ओम्नीसँग साँठगाँठ गरी आइटीका ठेक्कामा चलखेल गर्दै आएका आइटी माफिया विकलले इम्बोस्ड नम्बर प्लेटमा राज्यकोष लुट्ने प्रपञ्च रचेको स्वास्थ्य लाइभले फेला पारेको हो ।

नेपालमा सूचना प्रविधिका (आईटी) सिस्टम भित्र्याउने र त्यसमार्फत राज्यकोष लुट्न खप्पिस विकल इम्बोस्ड नम्बर प्लेटमार्फत ब्रह्मलुट गर्ने योजनाका मुख्य खेलाडी हुन् । यो विषयमा स्वास्थ्य लाइभले तथ्यसहित खुलासा गरेपछि अहिले अख्तियार पसेको छ । इम्बोस्ड नम्बर प्लेट राज्यकोष लुट्ने प्रपञ्चका साथ ल्याइएकाले संलग्नमाथि हदैसम्म कारबाही हुनुपर्छ ।

 

क्याटेगोरी : समाचार, सुशासन
ट्याग : #आइटी माफिया विकल पौडेल सुनिल पौडेल, #इम्बोस्ड नम्बर प्लेट, #ओम्नी, #विकल पौडेल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com