चौधरी ग्रुपसँगको घुस प्रकरणमा कर्णलाई खोजेको अख्तियारले वीपी प्रतिष्ठानको घोटालामा के गर्ला ?


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल राष्ट्र बैंकको सञ्चालक समितिका पूर्व सदस्य सुवोधकुमार कर्णको नाममा तीस दिने म्याद जारी गरेको छ । राष्ट्र बैंकमा बसेर चौधरी ग्रुपका प्रबन्ध निर्देशकसँग ३० हजार डलर घुस मागेको आरोप लागेका उनलाई उपस्थित हुन तीस दिने म्याद जारी गरेको हो ।

अख्तियारले काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नम्बर ३१ शंखमुल बस्ने वर्ष ६१ का सुवोधकुमार कर्णलाई केही कुरा बुझ्नुपर्ने भएकाले शुक्रबार तीस दिने म्याद जारी गरेको छ । सार्वजनिक सूचनामार्फत अख्तियारले उनको खोजी गरेको हो ।

राष्ट्र बैंकको सञ्चालक समितिका सदस्य हुँदा चौधरी ग्रुपका सदस्यसँग घुस मागेको प्रकरणमा कर्णमाथि अख्तियारले अनुसन्धान प्रक्रिया सुरु गरेको हो । नबिल बैंक र नेपाल बंगलादेश बैंकबीचको मर्जरका क्रममा कर छुट अनि राष्ट्र बैंकमा अड्किएको सीजी सिमेन्टको सेयर लेखांकनको प्रस्ताव अघि बढाउन कर्णले चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीसँग ३० हजार डलर घुस मागेको उजुरी अख्तियारमा परेको छ । उक्त विषयमा सोधपुछ गर्न अख्तियारले कर्णको नाममा तीस दिने म्याद जारी गरेको हो ।

महालेखापरीक्षक बन्ने दौडमा रहेका कर्ण घुस प्रकरणमा अख्तियार धाउने अवस्थामा पुगेका हुन् । तर, कर्णविरुद्ध अख्तियारले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको घोटालामा भने छानबिन गरेको छैन ।

वीपी प्रतिष्ठानमा नेपाल वित्तीयमान प्रतिवेदन(एनएफआरएस) लागू गर्दा परामर्श ठेक्कामा कर्णको कम्पनी सुवोध एसोसियट्सले झन्डै एक करोड घोटाला गरेको थियो । उक्त तथ्य स्वास्थ्य लाइभले सार्वजनिक गरिसकेको छ । २३ लाख ७९ हजार ३ सय रुपैयाँ प्रस्ताव हालेको सुवोध एसोसियट्सले ६७ लाख ८० हजारमा ठेक्का सम्झौता गरेर १ करोड ५० लाख भुक्तानी पाउन सफल भएको पाइन्छ । २४ लाख ७९ हजारको प्रस्तावमा ६७ लाख ८० हजारमा सम्झौता गर्नु आफैंमा लुट हो । यो विषयमा समेत अख्तियारले विस्तृत छानबिन गर्न जरूरी छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणमा एनएफआरएस लागू गर्दा कर्णको कम्पनीसँगको मिलेमतोमा चार करोड घोटाला भएको अर्को तथ्य स्वास्थ्य लाइभले सार्वजनिक गरेको थियो ।  उक्त घोटालामा पनि अख्तियार मौन देखिन्छ ।

क्याटेगोरी : समाचार, सुशासन
ट्याग : #एनएफआरएस, #चौधरी ग्रुप, #नविल बैंक, #नेपाल राष्ट्र बैंक, #नेपाल राष्ट्र बैंक सञ्चालक सदस्य, #सुवोध एसोसियट्स, #सुवोध कुमार कर्ण

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ