सम्पत्ति शुद्धीकरणलाई बद्नाम गराउने सहसचिव पुष्पराज शाही


काठमाडौं । सहसचिव पुष्पराज शाही सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट हटेपछि धेरै कर्मचारी, व्यापारी र पत्रकारले राहत महशुस गरेका छन् । सम्पत्ति शुद्धीकरणमा बसेर सरकारी कर्मचारी, व्यापारी र पत्रकारसँग धम्की र बार्गेनिङ गर्दै आएका महानिर्देशक शाही हटेसँगै धेरै जना खुलेर बोल्न सक्ने भएका छन् । उनीहरुको कुरा सुन्दा शाही जस्ता सहसचिव भए संस्था बद्नाम हुन केही समय लाग्दैन रहेछ भन्ने बुझ्न सकिन्छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको काम निजी क्षेत्रको अनुसन्धान गर्ने हो । सरकारी कर्मचारीले गरेको भ्रष्टाचार र कमाएको अकुत सम्पत्ति अनुसन्धान गर्ने जिम्मेवारी अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई रहेको छ । तर सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशक हुँदा शाहीले अख्तियारको समानान्तर अभ्यास गरे ।

शाहीले झन्डै २० जना सरकारी कर्मचारीलाई अकुत सम्पत्ति आर्जनमा फर्म भराए । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग कै बद्नाम हुने गरी उनले उपसचिव मुकेश केसरीलगायत झन्डै २० जना सरकारी कर्मचारीलाई फर्म भराएको सिंहदरबारभित्र चर्चा छ । उक्त कुरा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेपछि शाही हच्किएको स्रोतको दाबी छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र अन्य कार्यालयमा हुँदा आफ्नो स्वार्थ अनुसार काम नगर्ने र मन नपरेका कर्मचारीलाई शाहीले सम्पत्ति शुद्धीकरणमा पुगेर अनावश्यक दुःख दिएको पाइन्छ । उनले क्षेत्राधिकार नाघेर सरकारी कर्मचारीलाई सम्पत्ति शुद्धीकरण अनुसन्धानमा तानेको खुल्न आएको छ । यो सरासर अख्तियारको दुरुपयोग भएकाले अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विभागबाट कर्मचारीसम्बन्धी कागजात नियन्त्रणमा लिएर शाहीमाथि अख्तियारको दुरूपयोगमा तत्काल अनुसन्धान अगाडि बढाउन जरुरी देखिन्छ ।

शाहीले पत्रकार राजकुमार रायसहित ४ जना पत्रकारलाई पनि बयानका लागि बोलाएको चर्चा छ । उनले कहिले मुख्यसचिव डा. बैकुण्ठ अर्यालको नाम लिँदै त कहिले सहसचिव नारायणप्रसाद भट्टको नाम लिँदै ती पत्रकारलाई दुःख दिएको खुल्न आएको छ । सामन्य जीवनशैली भएका पत्रकारलाई तर्साएर शाहीले संस्थाको हुर्मत लिने काम गरेका छन् ।

शाहीले बालुवाटारमा क्लिनिक चलाएर बसेका डा. उदिप श्रेष्ठलगायतका व्यवसायीलाई विभागमा बोलाएर अनावश्यक दुःख दिएको कुरा प्रधानमन्त्री कार्यालयभित्र व्यापक चर्चा छ । डा. श्रेष्ठले त्यो प्रमाण प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को टिममा पुऱ्याइदिएपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकबाट शाहीलाई हटाइएको स्रोतको दाबी छ । चिकित्सक श्रेष्ठले ‘रेकर्ड’ गरेर राखेको त्यो प्रमाण शाहीका लागि गलपासो बन्ने निश्चित जस्तै रहेको प्रधानमन्त्री कार्यालयका अधिकारीहरु बताउँछन् । उक्त प्रकरणमा कानुन तर्फका एकजना सहसचिव समेत प्रयोग भएको विषयले अहिले तहल्का मच्चाएको छ ।

त्यति मात्र होइन शाहीले अख्तियारमा समेत पैसा बुझाउनु पर्छ भनेर ठूल्ठूला मुद्दा तामेलीमा राख्न मातहतका अनुसन्धान अधिकृतलाई दवाब दिने गरेको आरोप छ । त्यो विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसँग पुगेपछि उनले शाहीलाई बोलाएर थर्काएको समेत विश्वस्त स्रोतको दाबी छ । शाहीका कारण सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग नै बद्नाम भएको भन्दै प्रधानमन्त्रीसमक्ष व्यापारीहरुको ‘डेलिगेसन’ गएको थियो । त्यसपछि उनी त्यहाँबाट हटेका छन् ।

बदनियतपूर्ण तरिकाले कार्यालय चलाउने उनै सहसचिव शाही अहिले विदेशस्थित नियोगमा पोष्टिङका लागि लबिइङमा लागेकाे चर्चा छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छवि धमिल पार्ने र क्षेत्राधिकार नाघेर काम गर्ने उनीलाई सरकारले पुरस्कृत हैन कारबाही गर्न आवश्यक छ । यस्ता व्यक्तिलाई भविष्यमा महत्त्वपूर्ण जिम्मेवारी समेत नहुने सरकारी उच्च अधिकारीहरू कै धारणा छ । शाहीले संस्था नै बद्नाम हुने गरी यस्ता गतिविधि कसको आडमा सञ्चालन गरेका हुन त्यसको पनि छानबिन र लेखाजोखा हुन जरुरी छ ।

क्याटेगोरी : समाचार
ट्याग : #अकुत सम्पत्ति, #डा. उदिप श्रेष्ठ, #पुष्पराज शाही, #सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ