शेरादरबार जग्गा प्रकरणले नुवाकोटका मालपोत प्रमुखहरू भागाभाग


काठमाडौं। नुवाकोटस्थित शेरादरबारको जग्गा प्रकरणले मालपोत प्रमुखहरू भागाभाग भएका छन्। शेरा दरबार जग्गा प्रकरण आएसँगै नुवाकोटमा दुई जना प्रमुख मालपोत अधिकृत (उपसचिव) सरूवा मागेर हिँडेका छन्। एक जना प्रमुख मालपोत अधिकृत त भूमि मन्त्रालय नै छाडेर हिँडेका हुन्।

शेरादरबार जग्गा हिनामिनाको प्रकरण आउँदा मिनबहादुर भट्टराई नुवाकोटको प्रमुख मालपोत अधिकृत थिए। शेरादरबार जग्गा हिनामिनाको प्रकरण सार्वजनिक हुनुभन्दा अघि ओमबहादुर अधिकारी नुवाकोटको प्रमुख मालपोत अधिकृत थिए। अधिकारीपछि मिनबहादुर भट्टराई प्रमुख मालपोत अधिकृत भएर गए। भट्टराई कै पालामा शेरादरबार प्रकरण उजागर भयो। अन्नपूर्ण फार्मिङ कम्पनीका नाममा शेरादरबारको सरकारी ‘किर्ते’ गरेर दर्ता गरेको तथ्य सार्वजनिक भएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले छानबिन गऱ्यो। पुरातत्त्व विभागले समेत शेरादरबारमा हस्तक्षेप गऱ्यो। शेरा दरबारको सरकारी जग्गा विकेश श्रेष्ठको ग्रुपले ‘किर्ते’ गरेर दर्ता गरेको भनेर सबै जग्गा फिर्ता ल्याउन सिफारिस गरेको थियो। तर, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय हरबन्दीभन्दा बढीको जग्गा मात्र फिर्ता ल्याउने पक्षमा उभिएपछि भट्टराई भूमि व्यवस्था मन्त्रालय नै छाडेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयतिर हानिए। उपसचिव भट्टराई अहिले ईटहरी उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनेर गएका छन्।

मालपोतको किरो (मालपोत बुझेका) खोटाङ्गे भट्टराईले ४ महिनामै नुवाकोट छाडेपछि देवीबहादुर भण्डारी प्रमुख मालपोत अधिकृत बनेर गए। शेरादरबारको जग्गा फिर्ता ल्याउने उद्देश्यले उनले कागजी प्रक्रिया सुरू गरे। शेरादरबार हडप्नेहरूलाई म्याद दिएर तारेखमै राखे। मालपोतमा ‘भिजेका’ भण्डारी पनि शेरादरबार जग्गा प्रकरणले ४ महिना पनि नुवाकोटमा टिक्न सकेन। भण्डारी अहिले नुवाकोटबाट ‘भागेर’ महोत्तरीको जलेश्वरको प्रमुख मालपोत अधिकृत भएर गएका छन्। धनकुटेली भण्डारीले शेरादरबारको मैदान छाडेर हिँडेपछि भूमि मन्त्रालयले नुवाकोट जाने अर्को ‘बहादुर’ प्रमुख मालपोत अधिकृत भेटेको छैन। अहिले महेन्द्रबहादुर नेपालले निमित्त कार्यालय प्रमुख बनेर नुवाकोट मालपोत चलाइरहेका छन्। उनले कार्यालय धान्ने काम मात्र गरिरहेका हुन्।

नुवाकोट जिल्लाको विदुर नगरपालिका वडा नम्बर २ स्थित शेरा बेसीमा रहेको शेरादरबारको १८४ रोपनी जग्गामा १६३ रोपनी जग्गा फिर्ता ल्याउन सिआईबीले सिफारिस गरेको थियो। शेरादरबार प्राचिन तथा पुरातात्त्विक सम्पदा भएको सिआईबीको ठहरपछि पुरातत्त्व विभाग पनि चासो देखाएको छ। तर, भूमि व्यवस्था मन्त्रालय अन्तर्गत रहेको मालपोत कार्यालयले शेरादरबार सरकारको नाममा फिर्ता ल्याउन सकेको छैन।

शेरादरबार पृथ्वीनारायण शाहको पालाको १८४ रोपनी जग्गा पुस्तैनी सम्पत्तिका रुपमा हस्तान्तरण हुँदै तत्कालीन राजा त्रिभुवनकी नातनी बुहारी हेलेन शाह र नातिनी जयन्ती शाहको नाममा आएको थियो । भूमि सुधार ऐन, २०२१, मालपोत ऐन २०३४ लागू भएपछि हेलेनको नाममा १२ रोपनी र जयन्तीको नाममा ६ रोपनी ९ आना जग्गा कायम भएको थियो । १६३ रोपनी जग्गा सरकारको नाममा आउनु पर्नेमा हेलेन र जयन्तीको नाम हुँदै २०६४ सालमा माओवादी शान्ति प्रक्रियामा आएपछि उक्त जग्गा विभिन्न व्यक्तिको नाममा दर्ता भएको थियो। अहिले शेरादरबारको जग्गा फिर्ता ल्याउन प्रमुख मालपोत अधिकृहरूलाई ‘महाभारत’ परेको छ। शेरादरबार सरकारको नाममा ल्याउन ज्यानको खतरा देखाउँदै प्रमुख मालपोत अधिकृतरू भागाभाग हुन थालेको चर्चा सुनिन्छ। नुवाकोटमा न नयाँ प्रमुख मालपोत अधिकृत जान मान्छन् न त गएकै टिक्छन् शेरादरबार जग्गा प्रकरणले नुवाकोटको प्रमुख मालपोत अधिकृतको कुर्सी हल्लिएको पाइन्छ।

 

क्याटेगोरी : समाचार
ट्याग : #ओमबहादुर अधिकारी, #देवीबहादुर भण्डारी, #प्रमुख मालपोत अधिकृत नुवाकोट, #महेन्द्रबहादुर नेपाल, #मिनबहादुर भट्टराई, #शेरादरबार, #हेलेन शाह

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ