गाईजात्रामा यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूको भव्य ‘प्राइड परेड’, मन्त्रीको साथ र समर्थनको घोषणा

काठमाडौं । राजधानीमा आज गाईजात्राको अवसरमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले विगतका वर्षझैँ यस वर्ष पनि ‘प्राइड परेड’ भव्य रूपमा आयोजना गरेका छन्। निरन्तर २२ वर्षदेखि गाईजात्राको दिनलाई आफ्नो गौरव दिवसका रूपमा मनाउँदै आएका उनीहरूले यसलाई अस्तित्व र पहिचानको प्रतीकका रूपमा स्थापित गरेका छन्।
यस वर्ष ब्लु डाइमन्ड सोसाइटी र मायाको पहिचान नेपालले छुट्टाछुट्टै स्थानबाट कार्यक्रम सञ्चालन गरे। पछिल्ला दिनमा दुवै निकायबीच सौहार्द कमी देखिएको भए पनि, दुवै पक्षले समुदायको हकअधिकार र पहिचानका लागि आ–आफ्नो तर्फबाट सहभागिता जनाए।
नक्सालस्थित नारायणचौरबाट ब्लु डाइमन्ड सोसाइटीले निकालिएको र्यालीमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडील्ले उपस्थिति जनाउँदै औपचारिक रूपमा सम्बोधन गरेका थिए।
मन्त्री सुडील्ले देशका विभिन्न स्थानबाट आएका सहभागीलाई बधाई तथा शुभकामना दिँदै भने, “यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका थुप्रै समस्याहरूलाई सरकार नजिकबाट हेरेको छ, र सम्बोधनका लागि आवश्यक पहल गर्न तयार छ।”
उनले थपे, “तपाईंहरूको मनोबललाई अघि बढाउन मन्त्रालयले गर्नुपर्ने कार्यमा हामी संलग्न हुनेछौं। सरकार तपाईंहरूको हकअधिकारका पक्षमा दृढतापूर्वक उभिएको छ।”
कार्यक्रममा सहभागी तेस्रोलिंगी, समलिंगी, अन्तरलिंगी लगायतका व्यक्तिहरू वर्षौँदेखि समाज र परिवारको घृणा, तिरस्कार र बहिष्कारको पीडालाई भुल्दै, जीवनसाथीसँग बेहुला–बेहुलीको पहिरनमा र रंगीन झाँकीसहित सडकमा उत्रिएका थिए।
यो अवसरमा ग्लोबल फण्ड परियोजनाबाट आएका प्रतिनिधिहरूले समेत सहभागिता जनाएका थिए, जसलाई धेरैले गाईजात्रा र ‘प्राइड परेड’को उद्देश्यसँग मेल खाने संयोगको रूपमा हेरे। उनीहरूको उपस्थिति समुदायको स्वास्थ्य, अधिकार र समानताका विषयमा अन्तर्राष्ट्रिय तहमा पनि समर्थन रहेको संकेतका रूपमा लिइएको छ।
समुदायका सदस्यहरूले गाईजात्रालाई आफ्नो संघर्ष, अस्तित्व र पहिचानको दिनका रूपमा स्वीकार गर्दै, यस दिनसम्म आइपुग्न ठूलो संघर्ष र पीडा व्यहोर्नु परेको अनुभव सुनाए।
फाेटाे फिचर
ट्याग : ##LGBTIQ+, #Blue dimon society
तपाईको प्रतिक्रिया दिनुहोस