गैँडाको स्वास्थ्यमा असर पर्नेगरी जलप्रदूषण गर्ने चौधरी ‘ग्रुप’माथि बालेन सरकारको एक्सन
काठमाडौं। सरकारले गैँडाले पानी खाने ठाउँमा जल प्रदूषण गर्ने चौधरी ‘ग्रुप’को सिजी पार्कमाथि एक्सन लिएको छ। नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का प्रमुख जिल्ला अधिकारी (सिडिओ) पाण्डेको अध्यक्षतामा बसेको बैठकले चौधरी ग्रुपको सिजी पार्कमाथि एक्सन लिने निर्णय गरेको थियो। देवचुली नगरपालिका-२ स्थित चौधरी ग्रुप अफ इन्डस्ट्रियल पार्क (सिजी पार्क), सागर डिस्टिलरीलगायतका उद्योगहरूले जलप्रदूषण गरेको विषयमा सरकारले एक्सन लिएको हो।

गैँडाले पानी खाने ठाउँमा जलप्रदूषण गर्ने चौधरी ग्रुप अफ इन्डस्ट्रियल पार्कभित्रका उद्योगमाथि एक्सन लिन सहायक प्रमुख जिल्ला अधिकारी चीरञ्जीवी रानाको संयोजकत्वमा समिति नै गठन गरिएको छ। उक्त समितिले उद्योग सञ्चालनका क्रममा सिर्जना हुने फोहोर व्यवस्थापन, प्रदूषण नियन्त्रण लगायतका विषयमा हाल उद्योगहरूले अपनाएको प्रणालीका बारेमा स्थलगत अनुगमन गरी सात (७) दिनभित्र पेस गर्न सहायक सिडिओ रानाको संयोजकत्वमा समिति गठन गरिएको हो।

सिडिओको अध्यक्षतामा बसेको बैठकले चौधरी ग्रुप अफ इन्डस्ट्रियल पार्क देवचुली-२ र सागर डिस्टिलरी देवचुली-१ ले उद्योग/कलकारखाना सञ्चालनका क्रममा निष्कने फोहोर पानीलाई प्रशोधन पश्चात सुद्धीकरण गरेर मात्र निष्कासन गर्ने प्रबन्धलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने निर्णय गरेको छ। देवचुली नगरपालिकाका मेयर हरिप्रसाद न्यौपाने, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक युवराज खड्का, प्रमुख प्रशासकीय अधिकृतलगायतको उपस्थितिमा बसेको बैठकले समिति नै गठन गरेर सिजी पार्कमाथि एक्सन लिने प्रक्रिया अघि बढाएको हो।
चौधरी ग्रुप अफ इन्डस्ट्रियल पार्क र सागर डिस्टिलरीको लापरबाहीका कारण उक्त क्षेत्रमा जलप्रदूषण हुँदै आएको छ। एकसिङ्गे गैँडा जस्ता महत्त्वपूर्ण जंगली जनावरको समेत स्वास्थ्यमा समस्या आउनेगरी प्रदूषण भइरहेको थियो। पटक-पटक उजुरी परेपनि खासै सुनुवाइ भएको थिएन। बालेन सरकार आएपछि जलप्रदूषण गर्ने चौधरी ग्रुप अफ इन्डस्ट्रियल पार्क र सागर डिस्टिलरीमाथि एक्सन सुरु भएको हो। समितिले दिएको रिपोर्टका आधारमा थप एक्सन लिने तयारी छ।


तपाईको प्रतिक्रिया दिनुहोस