जग्गा किन्ने सहसचिवलाई भ्रष्टाचार मुद्दा लाग्दा बेच्ने शाखा अधिकृत किन तानिएनन् अनुसन्धानमा?
काठमाडौं। जग्गा किन्ने सहसचिव झलकराम अधिकारीलाई भ्रष्टाचार मुद्दा लाग्दा जग्गाधनी शाखा अधिकृत नरेन्द्रप्रसाद न्यौपाने अनुसन्धानको दायरामा आएको पाइँदैन। सहसचिव अधिकारीले घुस रकम व्यवस्थापन गर्न शाखा अधिकृत न्यौपानेको जग्गा खरिद गरेपनि न्यौपानेको सम्पत्ति स्रोत भने अख्तियारले नखोजेको पाइएको हो।
अख्तियारले विशेष अदालतमा दायर गरेको अभियोगपत्र अनुसार झलकराम अधिकारीले घुस रिसवत बापतको चेक मार्फत लिएको ५० लाख रकम बैना वापत जग्गाधनी शाखा अधिकृत न्यौपानेले बुझेको देखिन्छ। सहसचिव अधिकारी कै निर्देशनमा रवीन्द्र लामिछानेको नाममा भक्तपुरको मध्यपुर थिमि नगरपालिकास्थित दिव्यश्वरी आयोजनाभित्र खरिद गरिएको कित्ता नम्बर ९९८ को ५ आना २ दाम बढी जग्गा शाखा अधिकृत न्यौपानेले बेचेका हुन्। दिव्यश्वरीको करोडौं मूल्यका जग्गाधनी शाखा अधिकृत न्यौपानेको विषयमा अख्तियार मौन देखिन्छ।
अख्तियारले घुस रकम व्यवस्थापन गर्न जग्गा लामिछानेको नाममा जग्गा किन्ने सहसचिव झलकरामलाई भ्रष्टाचार मुद्दा दायर गरेको छ। उनी हाल निलम्बनमा रहेका छन्। तर, उक्त जग्गा बेच्ने जग्गाधनी शाखा अधिकृत न्यौपाने फुक्काफाल देखिन्छन्।
शाखा अधिकृत न्यौपानेको भ्रष्टाचारमा डामिएका काठमाडौं उपत्यका विकास प्राधिकरणका पूर्वविकास आयुक्त भाइकाजी तिवारीसँग पनि निक्कै राम्रो हिमचिम रहेको पाइन्छ। शाखा अधिकृत न्यौपाने झलकराम अधिकारीका विश्वासपात्र हुन्। अकुतमा डामिएका भाइकाजीसँग घनिष्ठ सम्बन्ध भएका न्यौपाने छोटो समयमै करोडौंको जग्गा जोडेको देखिन्छ। आनाको ५० औं लाख पर्ने दिव्यश्वरी प्लानिङमा उनले कसरी ५ आना बढी जग्गा खरिद गरे त्यो पनि खोजीको विषय हो। अख्तियारले सहसचिव झलकरामको जस्तै शाखा अधिकृत पनि सम्पत्तिको स्रोत र व्यवस्थापनको कनेक्सन खोज्नु पर्ने देखिन्छ। अधिकृत तहकै कर्मचारीले दिव्यश्वरी प्लानिङ जस्तो महँगो ठाउँमा कसरी जग्गा खरिद गऱ्यो भनेर अख्तियारले त्यसको स्रोत खोज्नैपर्छ।



ट्याग : #झलकराम अधिकारी सहसचिव, #नरेन्द्र कुमार न्यौपाने शाखा अधिकृत


तपाईको प्रतिक्रिया दिनुहोस