सल्यानको गाउँपालिका खटाइएका अध्यागमन अधिकृत केसीले दिए राजीनामा


काठमाडौं। सल्यानको कुमाख गाउँपालिका सरूवा भएका अध्यागमन अधिकृत चूडामणि केसीले पदबाट राजीनामा दिएका छन्। गत चैत्र १९ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गृह मन्त्रालय वा अन्तर्गतका शाखा अधिकृत केसीलाई सल्यानको कुमाख गाउँपालिकामा सरूवा गरेको थियो। गृह जिल्लामा सरूवा भएका केसी खटाएको ठाउँमा नगइ राजीनामा दिएका हुन्।

शाखा अधिकृत केसी पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अध्यागमन अधिकृत रूपमा कार्यरत छन्। करिब १ वर्ष अघि पोखरा पुगेका केसीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सल्यानको कुमाख गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत बनाएर खटाएको थियो। खटाएको ठाउँमा जानुभन्दा उनले पदबाट राजीना दिने विकल्प रोजेको पाइन्छ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका शाखा अधिकृत गणेश घिमिरेलाई अछामको मेल्लेख गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरूवा गरिएको थियो। उनले पनि पदबाट राजीनामा दिएका छन्।

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट दार्चुलाको व्यास गाउँपालिकामा सरूवा भएका हरि पौडेल र नुवाकोटको तारकेश्वर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा खटाएका शेखरनिधि पौड्‌यालले पनि पदबाट राजीनामा दिइसकेका छन्। सरकारले खटाएको ठाउँमा जान छाडेर उनीहरूले पदबाट राजीनामा दिएका हुन्।

राजीनामा दिने कर्मचारीको भटाभट राजीनामा स्वीकृत गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तुरुन्तै सर्कुलर जारी गर्न आवश्यक देखिन्छ। नत्र राजीनामामा हतियार बनाएर खटाइएको ठाउँमा नजाने कर्मचारीको आम प्रवृत्ति मौलाउँछ।

 

क्याटेगोरी : समाचार
ट्याग : #चूडामणि केसी

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ