लागू औषध नियन्त्रण विभाग गठन गर्न माग


काठमाडौं । लागू औषधको बढ्दो समस्या न्यूनीकरण गर्न प्रभावकारी संरचना आवश्यक रहेको भन्दै लागू औषध नियन्त्रण विभाग गठन गर्न माग गरिएको छ।

लागू औषध प्रयोगकर्ता तथा सेवा प्रदायक संस्थाहरूको राष्ट्रिय सञ्जाल ‘रिकभरिङ नेपाल’ले गृह मन्त्रालयलाई पत्र लेख्दै हालको संरचना पर्याप्त नभएको उल्लेख गर्दै विभाग गठन गरी प्रभावकारी कार्यान्वयन गर्न आग्रह गरेको हो।

पत्रमा लागू औषध प्रयोगकर्तालाई अपराधीकरण गर्नुको सट्टा उपचार, पुनःस्थापना र सामाजिक पुनःएकीकरणमा जोड दिनुपर्ने बताइएको छ। प्रयोगकर्ताहरू समाज र परिस्थितिका शिकार हुने भएकाले उनीहरूलाई सुधारमुखी दृष्टिकोणबाट हेरिनुपर्ने संस्थाको धारणा छ।

रिकभरिङ नेपालका अनुसार नेपाल सरकारले जारी गरेको “लागू औषध रोकथाम तथा नियन्त्रण राष्ट्रिय गुरु योजना (२०१९–२०२५)” कार्यान्वयन गर्न स्पष्ट संस्थागत संरचना अभाव रहेको छ। सोही अनुसार लागू औषध नियन्त्रण विभाग स्थापना गरी सशक्त रूपमा कार्यान्वयन गर्न आवश्यक रहेको औंल्याइएको छ।

त्यस्तै, लागू औषध नियन्त्रण नीति २०६३ समय सापेक्ष नभइसकेको भन्दै त्यसलाई अद्यावधिक गर्न पनि माग गरिएको छ। नयाँ संविधान कार्यान्वयनमा आइसकेको अवस्थामा पनि लागू औषध नियन्त्रण ऐन २०३३ नै कार्यान्वयनमा रहनु असान्दर्भिक भएको भन्दै तयार गरिएको नयाँ मस्यौदा (२०७६) लाई छिटो अघि बढाउनुपर्ने उल्लेख गरिएको छ।

देशका तराई, पहाड र हिमाली क्षेत्रमा लागू औषधको समस्या बढ्दै गएको उल्लेख गर्दै उपचार, हेरचाह, सचेतना र नियन्त्रणका लागि संघीयदेखि स्थानीय तहसम्म बलियो संरचना निर्माण गर्नुपर्नेमा जोड दिइएको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ