गृह र सामान्य प्रशासन मन्त्रालयका कर्मचारी सबैभन्दा बढी अनुशासनहीन


काठमाडौं। गृह र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारी सबैभन्दा बढी अनुशासनहीन देखिएका छन्। कर्मचारी खटनपटन गर्ने सामान्य प्रशासन मन्त्रालय र अनुशासन कायम गराउने गृह मन्त्रालय कै कर्मचारी सबैभन्दा बढी अनुशासनहीन देखिएका हुन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनमा राष्ट्रिय सतर्कता केन्द्रले गरेको अनुगमनमा गृह र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारी सबैभन्दा बढी अमर्यादित र अनुशासनहीन रहेको फेला परेका छन्। यी दुई मन्त्रालयका कर्मचारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उच्च निगरानीमा राखेको छ।

राष्ट्रिय सतर्कता केन्द्रको छड्केमा गृह मन्त्रालयका ५६ कर्मचारी समयमा उपस्थिति नभएको र ६ जना कर्मचारीले तोकिएको पोशाक नलगाएको फेला परेको छ। गृह मन्त्रालयका ६२ जना कर्मचारी अनुशासनहीन रहेको पाइएको हो। केन्द्रले कार्यालयको सेवा प्रवाह, कर्मचारीको समय, पोशाक र आचरणका विषयमा अनुगमन गरेको थियो। आचरणविपरीत काम गर्नेमा गृह मन्त्रालय १ नम्बर देखिएको हो।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारी दोस्रो नम्बरमा परेका छन्। सामान्य प्रशासन मन्त्रालयका ६० जना कर्मचारी तोकिएको समय (९ बजे) मन्त्रालयमा आउने नगरेको पाइएको हो। कर्मचारी परिचालन र आचरण सिकाउने मन्त्रालय कै कर्मचारी आचरणविपरीत चलिरहेको पाइएको छ।

त्यसपछि पराराष्ट्र मन्त्रालयका कर्मचारी आचरणहीन देखिएका छन्। परराष्ट्रका ३९ जना कर्मचारी समयमै मन्त्रालय नपुगेको सतर्कता केन्द्रले छड्के हान्दा फेला पारेको हो।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका ३६ जना र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका ३२ जना र अर्थ मन्त्रालयका २५ जना कर्मचारी ढिला गरेर आउने गरेको सतर्कता केन्द्रले फेला पारेको छ। उद्योग तथा खेलकुद मन्त्रालयका १२ जना र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका ११ जना कर्मचारी पनि तोकिएको समयमा अनुपस्थित देखिएका छन्। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका ३ जना कर्मचारीले भने तोकिएको पोशाक नलगाएको फेला परेको छ।

गृह, सामान्य, परराष्ट्र जस्ता मन्त्रालयका कर्मचारीले बालेन सरकारले समयको महत्त्व बुझाउन आवश्यक र जरूरी देखिन्छ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ