प्रमुख प्रशासकीय अधिकृत समयमै कार्यालयमा नआएपछि बढ्न थाल्यो ‘कम्प्लेन’
काठमाडौं। स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरू कार्यालयमा नआएपछि कम्प्लेन बढ्न थालेको छ। सुनसरीको कोशी गाउँपालिकादेखि सिराहाको विष्णुपुर गाउँपालिकासम्मका प्रमुख प्रशासकीय अधिकृतविरूद्ध सेवाग्राहीले उजुरी/गुनासो गर्न थालेका छन्। बालेन सरकारले राष्ट्रिय सतर्कता केन्द्रलाई सक्रिय गराएसँगै सचेत जनताले कर्मचारीमाथि निगरानी गर्न थालेको पाइन्छ।
सुनसरीको कोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर प्रसाद दंगाल समयमा कार्यालयमा उपस्थित नहुने गुनासो आएपछि राष्ट्रिय सतर्कता केन्द्रले सचेत गराएको छ।
धनुषाको विदेह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शैलेन्द्र कुमार यादव त कार्यालयमै नआएर अनुशासनहीन काम गरेको गुनासो आएको छ। उक्त विषयमा छानबिन गर्न राष्ट्रिय सतर्कता केन्द्रले जिल्ला प्रशासन कार्यालय, धनुषालाई निर्देशन दिएको हो। विदेह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र लेखापालले ५ लाख रुपैयाँको खाजाको फर्जी बिल बनाइ अनियमितता गरेको आरोप लागेको छ। सर्लाहीको बरहथवा नगरपालिकाले नाफामूलक संस्था गायत्री साना किसान कृषि सहकारी संस्थालाई १९ लाख ४० हजार रुपैयाँ दिएर अनुचित कार्य गरेको समेत उजुरी/गुनासो आएको हो। गुनासो आउनेबित्तिकै राष्ट्रिय सतर्कता केन्द्रले जवाफ माग्न थालेको छ। फर्जी बिल बनाइ अनियमितता गरेको र नाफामूलक संस्था गायत्री साना किसान कृषि सहकारी संस्थालाई १९ लाख ४० हजार रुपैयाँ दिएर अनियमितता गरेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरेर भ्रष्टाचार मुद्दा चलाउने प्रकृतिको देखिन्छ।
संखुवासभाको चैनपुर नगरपालिकाले शिक्षकलाई समयमै तलब नदिएको र सर्लाहीको रामनगर गाउँपालिका समयमै खुल्ने नगरेको गुनासो समेत राष्ट्रिय सतर्कता केन्द्रमा आएको छ।
भद्रपुर नगरपालिकाको वडा नम्बर ६ का वडाध्यक्षले गैरकानुनी सम्पत्ति आर्जन गरेको उजुरी राष्ट्रिय सर्तकता केन्द्रले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग पठाएको पाइन्छ। यस्तो प्रकृतिको उजुरी अख्तियार दुरूपयोग अनुसन्धान आयोगले हेर्ने गरेको छ।
सिराहाको विष्णुपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुखि कापर कार्यालयभन्दा बाहिर बसेर कामकाज गर्ने गुनासो समेत आएको छ। राष्ट्रिय सतर्कता केन्द्रमा सर्लाहीको ईश्वरपुर नगरपालिकादेखि धनुषाको नगराइन र सुनसरी रामधुनी नगरपालिकासम्मका गुनासो आउने गरेको छ। उक्त विषयमा समेत रााष्ट्रि सतर्कता केन्द्रले एक्सन लिएको हो।


तपाईको प्रतिक्रिया दिनुहोस