एचआईभी/टिबी सेवामा भाइरल लोड परीक्षण र औषधि अभाव


काठमाडौं । एचआईभी संक्रमित बिरामीको उपचारमा अत्यन्तै महत्वपूर्ण मानिने ‘भाइरल लोड’ परीक्षणका नमुना काठमाडौं पठाउनुपर्ने बाध्यता अझै हट्न नसक्दा सेवाग्राहीले सास्ती खेप्नुपरेको छ। यससँगै औषधि अभाव, आवश्यक परीक्षण सेवा नहुनु तथा चिकित्सकको कमी जस्ता समस्याले एचआईभी तथा क्षयरोग (टिबी) सेवाको प्रभावकारितामै प्रश्न उठेको छ।
एचआईभी र टिबी सम्बन्धी स्वास्थ्य अधिकार तथा मानवअधिकारका विषयमा २०२६ अप्रिल २३ मा  गण्डकी प्रदेश  क्षयरोग अस्पतालमा आयोजित समीक्षा बैठकले यस्तो निष्कर्ष निकालेको हो।
बैठकसँगै विभिन्न सेवा केन्द्रहरूमा गरिएको संयुक्त अनुगमनका क्रममा एआरटी केन्द्र, ओपिओइड प्रतिस्थापन उपचार केन्द्र, प्रवासी लक्षित कार्यक्रम तथा समुदायस्तरका सहयोग समूहहरूमा सेवा प्रवाहको अवस्था मूल्यांकन गरिएको थियो।
अनुगमनका क्रममा CD4 सेल गणना सेवा उपलब्ध नभएको, एआरटी सेवाका लागि दरबन्दी अनुसारका चिकित्सकको अभाव रहेको तथा सेवा उपलब्ध हुँदाहुँदै पनि सेवाग्राही अन्यत्र जानुपर्ने अवस्था देखिएको उल्लेख गरिएको छ । अन्यत्र जानुकाे पछाडि उनिहरुले सुरक्षित स्थान खाेजेका हुन् । याे उनिहरुकाे स्वतन्त्रताको विषय हाे ।
त्यसैगरी कानुनी कागजात अभावका कारण CABA अन्तर्गतको नगद सहायता सेवाग्राहीले पाउन नसकेको, औषधि तथा आवश्यक सामग्रीको अभाव (स्टक आउट) देखिएको र आपूर्ति व्यवस्थापन कमजोर रहेको समेत औंल्याइएको छ।
यता महिला लागूऔषध प्रयोगकर्तामा अवाञ्छित गर्भधारणको समस्या, स्वास्थ्य बीमाबारे जानकारीको कमी, प्रहरीबाट हुने दुर्व्यवहार तथा समाजमा विद्यमान कलंक र विभेद अझै पनि प्रमुख चुनौतीका रूपमा देखिएका छन्। विशेषगरी महिला लागूऔषध प्रयोगकर्ताको OST कार्यक्रममा न्यून सहभागिता चिन्ताजनक रहेको उल्लेख गरिएको छ।
यद्यपि,  एआरटी केन्द्रमा सेवाग्राहीको गोपनीयता कायम गरिएको छ । नियमित फलोअपका लागि ओपीडी कार्ड आवश्यक नपर्ने व्यवस्था गरिएको तथा पाठेघरको मुखको क्यान्सर पहिचानका लागि VIA परीक्षण समावेश गरिएको छ ।
त्यस्तै, OST सेवाले सेवाग्राहीको दैनिक जीवन तथा आर्थिक स्थायित्वमा सहयोग पुर्‍याएको, महिला स्वास्थ्य स्वयंसेविकाको संलग्नताले प्रवासी लक्षित कार्यक्रम प्रभावकारी बनेको र हालैको संसदीय परिवर्तनले कार्यक्रम कार्यान्वयनमा सहयोग पुगेको निष्कर्ष पनि निकालिएको छ।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ