बालेन सरकारले वीपी क्यान्सर अस्पतालको अध्यक्ष खुला प्रतिस्पर्धाबाट ल्याउने भयो


काठमाडौं। बालेन सरकारले वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्ष खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्ने प्रक्रिया अघि बढाएको छ। यसअघि राजनीतिक पहुँच र प्रभावका आधारमा उक्त अस्पताल सञ्चालक समितिको अध्यक्षमा नियुक्ति गर्दै आएको थियो। बालेन सरकारले पहिलोपटक खुला प्रतिस्पर्धाबाट वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल विकास समितिको अध्यक्ष नियुक्ति गर्ने प्रकिया अघि बढाएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्ष पदमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्न आवेदन मागेको छ। मंगलबार ७ दिनको म्याद दिएर आवेदन मागेको हो। वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल ऐन, २०५३ को दफा ७ को उपदफा (१) को खण्ड (क) मा उल्लेख भए बमोजिमको योग्यता पुगेका इच्छुक उम्मेदवारले आवेदन दिन सक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सञ्चालक समितिका अध्यक्ष डा. विजयराज न्यौपानेको चैत १९ गते कार्यकाल सकिएपछि सरकारले खुला प्रतिस्पर्धाबाट नियुक्तिको प्रक्रिया अघि बढाएको हो। उक्त प्रक्रियासँगै बालेन सरकारले स्वास्थ्यमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्ने सुरूवात गरेको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ