स्वास्थ्य मन्त्रीको ऐतिहासिक कामः १८०८ स्वास्थ्यकर्मी केन्द्रिय रिजर्भमा, जहाँ अभाव त्यहीँ परिचालन (दरबन्दीसहित)
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १८०८ स्वास्थ्यकर्मीलाई केन्द्रमा ‘घुम्ती जनशक्ति’ (पुल दरबन्दी) का रूपमा राखी आवश्यकताअनुसार देशभरका स्वास्थ्य संस्थामा तत्काल परिचालन गर्ने तयारी गरेको छ।
यो व्यवस्थालाई स्वास्थ्य प्रणाली सुधारतर्फको महत्वपूर्ण तथा दीर्घकालीन कदमका रूपमा लिइएको छ। मन्त्रालयले यसअघि सीमित संख्यामा मात्र रहेको पुल दरबन्दीलाई विस्तार गर्दै ८३१ बाट बढाएर १८०८ पुर्याउने प्रस्ताव अघि बढाएको हो। यसमा थप ९७७ दरबन्दी समावेश गरिएको छ।
प्रस्ताव हाल अर्थ मन्त्रालय हुँदै सामान्य प्रशासन मन्त्रालयको सहमतिपछि मन्त्रिपरिषद् र लोक सेवा आयोगमार्फत कार्यान्वयन हुने प्रक्रियामा छ।
अर्थ मन्त्रालयका अनुसार, देशका विभिन्न अस्पतालमा देखिने जनशक्ति अभाव तत्काल सम्बोधन गर्न तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन यो ‘केन्द्रिय रिजर्भ प्रणाली’ लागू गर्न लागिएको हो। यसअन्तर्गत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई स्थायी रूपमा एउटै संस्थामा नराखी आवश्यकताअनुसार विभिन्न स्वास्थ्य संस्थामा खटाइनेछ। एउटामात्र सस्थामा बर्षाै बस्दा स्वास्थ्यकर्मी क्रोनिक बन्दै गएका थिए ।
अर्थ मन्त्रालयका एक उच्च अधिकारीका अनुसार, “जहाँ जनशक्ति अभाव हुन्छ, त्यहाँ तत्काल पठाउने उद्देश्यले यो व्यवस्था अघि बढाइएको हो।”
विशेषज्ञ जनशक्ति पनि रिजर्भमा
नयाँ व्यवस्थाअनुसार ११ तहका प्रमुख विशेषज्ञ चिकित्सकदेखि स्टाफ नर्ससम्मलाई पुल दरबन्दीमा समेटिएको छ। कार्डियोलोजी, अर्थोपेडिक सर्जरी, न्यूरो सर्जरी, युरो सर्जरी, एनेस्थेसियोलोजी लगायतका विशेषज्ञ सेवा तत्काल उपलब्ध गराउने गरी रिजर्भ व्यवस्था गरिएको छ।
सबैभन्दा बढी माग हुने स्टाफ नर्सको संख्या १०६३ पुर्याइएको छ भने मेडिकल अधिकृत १८२ जना थप गरिएको छ। एनेस्थेसियोलोजिस्टलगायत अन्य विशेषज्ञ दरबन्दी पनि उल्लेख्य रूपमा विस्तार गरिएको छ।
सेवा सुधारतर्फ नयाँ मोडेल
मन्त्रालयले यो प्रणालीलाई ‘जहाँ अभाव त्यहीँ परिचालन’ मोडेलका रूपमा अघि सारेको छ। यसले आकस्मिक अवस्थामा स्वास्थ्य सेवा प्रवाहलाई सहज बनाउने र विशेषज्ञ सेवाको पहुँच दुर्गम तथा ग्रामीण क्षेत्रसम्म पुर्याउने अपेक्षा गरिएको छ। तर, स्वास्थ्य मन्त्रीलाई गलत सल्लाह दिने र विवादमा ल्याउनेहरु अग्रपंक्तिमा देखिन थालेकाले लय लिइरहेको कामले बाटाे बिराउँने हाेकी भन्नेमा धेरैलाई चिन्ता बढ्न थालेको छ ।
स्वास्थ्यमा कुनै पनि मन्त्री सफल भएको उदाहरण छैन । किथ्रे सप्लायर्स हाबी हुने, जथाभावी कर्मचारी, मन्त्री बिरुद्ध समाचार लेखाउँने र विवादमा पार्न सबैभन्दा अगाडि उनिहरु हुनेगरेका छन् । त्यसैले कामले गति लिएको बेला स्वास्थ्य बुझ्ने र स्वार्थ बिहिन व्यक्ति सचिवालयमा हुन जरुरी छ ।


ट्याग : ##mohp nepal, ##पुल दरबन्दी


तपाईको प्रतिक्रिया दिनुहोस