भरतपुर अस्पतालका अध्यक्ष पौडेलले दिए राजीनामा, अन्य अस्पतालका अध्यक्षले के गर्लान्?
काठमाडौं। बालेन सरकारले पदमुक्त गर्ने अध्यादेश अगाडि बढाएपछि भरतपुर अस्पताल विकास समितिकाे अध्यक्ष ढुण्डीराज पौडेलले राजीनामा दिएका छन्। सरकारको नीतिलाई सम्मान गर्दै पौडेलले राजीनामा दिएका हुन्।
भरतपुर जस्तै थुप्रै अस्पताल विकास समितिमा राजनीतिक नियुक्ति खाएका छन्। पौडेलले राजीनामाको बाटो देखाएसँगै अरूलाई समेत बाटो सहज भएको हो।
काठमाडौंको मुटुमा रहेको कान्ति बाल अस्पताल विकास समितिको अध्यक्ष श्रीराम सुवेदी हुन्। नारायणी अस्पताल विकास समितिको अध्यक्ष धिरज कुमार गुप्ता रहेका छन्। गुप्तालाई नारायण अस्पताल विकास समितिको अध्यक्षमा टेरामक्स घोटालाका नाइके तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मनोनित गरेका थिए। भेरी अस्पताल विकास समितिको अध्यक्ष वीरेन्द्र शाह राजनीतिक नियुक्ति खानेमा पर्छन्। शाहलाई पनि मन्त्री बस्नेतले भेरी अस्पतालको अध्यक्ष बनाएका हुन्।
जीपी कोइराला श्वास प्रश्वास उपचार केन्द्रको अध्यक्ष दीपेन्द्ररमण सिंह हुन्। उनी अतिरिक्त स्वास्थ्य सचिवबाट अवकाश पाएपछि जीपी कोइराला श्वास प्रश्वास उपचार केन्द्रको अध्यक्षमा राजनीतिक नियुक्ति खान पुगेका हुन्।
कोशी अस्पताल अस्पताल विकास समितिका अध्यक्ष फरवाड सिलवाल रहेका छन्। सिलवाल विराटनगरका प्रतिष्ठित चिकित्सक हुन्।
रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिको अध्यक्षमा डा. पशुपति चौधरी रहेका छन्। उनी उपेन्द्र यादव स्वास्थ्य तथा जनसंख्यामन्त्री हुँदा अध्यक्ष बनेका हुन्। डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्ष करुणा ओझा रहेका छन्।
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल विकास समितिको अध्यक्षमा धनुषाकी वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. सरोजा कार्की पाण्डे हुन्। भरतपुर अस्पताल विकास समितिकाे अध्यक्ष ढुण्डीराज पौडेल भने पछिल्लो जेनजी सरकारको पालामा नियुक्त भएका हुन्।
भरतपुर अस्पताल विकास समितिकाे अध्यक्ष पौडेलले राजीनामा दिएसँगै अन्य अध्यक्षहरूलाई नैतिक संकट आइपरेको छ।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस