रावल आयोगले रोक्का राखेको जग्गामा कसरी बनाए भूमाफिया चाम्लिङले पूर्जा?


समाचार टिप्पणी

काठमाडौं। देवीनगरका भूमाफिया इन्द्रकुमार चाम्लिङले ८ तले घरको लालपूर्जा भएको दाबी गर्दै आएका छन्। भोजपुरका चाम्लिङ काठमाडौंको अनामनगर हुँदै देवीनगरमा साम्राज्य खडा गरेर बसेका हुन्।

काठमाडौं महानगरपालिका वडा नम्बर १० सिट नम्बर १०२-११०६-२२ कित्ता नम्बर ५७७ र १९१ को केही भाग ओगटेर उक्त टावर खडा भएको छ। रावल आयोगले रोक्का राखेको ५७७ को जग्गाको भूमाफिया चाम्लिङले लालपूर्जा बनाएका छन्। १९१ नम्बर कित्ता भने सरकारी जग्गामा नै पर्छ। साबिक धोबीखोला बगरमा पर्ने उक्त जग्गा रावल आयोगले सरकारी भनेर छुट्‌याएको थियो। त्योमध्ये ५७७ नम्बर कित्ता भूमाफिया चाम्लिङले छोरी स्वस्तिकाको नाममा पुगेको छ। उनले १९१ नम्बरको सरकारी कित्ता समेत मिचेर ८ संरचना खडा गरेपछि डोजर लगाइएको हो।

रावल आयोगभित्र पर्ने जग्गाको धनीपूर्जा बनाएका चाम्लिङले सरकारी जग्गा मिचेर बनाएको संरचनामा डोजर चलाइएको छ भने लालपूर्जा भएको जग्गाको संरचना छानबिनको दायरामा आउने देखिन्छ। रावल आयोगमा परेको उक्त जग्गा दर्ता गर्ने चाम्लिङमाथि छानबिन र हदैसम्मको कारबाही गरेर सरकारी नाममा जग्गा फिर्ता ल्याउन जरूरी छ।

भूमाफिया चाम्लिङले भवन बनाउने अनुमति लिएपनि निर्माण सम्पन्न प्रमाणपत्र लिन सकेका छैनन्। त्यसको कारण हो सरकारी जग्गा समेत मिचेर स्वकृतिभन्दा बढी तलाको संरचना खडा गर्नु। उक्त भवनको विवाद आएपछि सरकारले रेखाङ्कन गरेरै डोजर लगाएको हो। उक्त ठाउँमा पटकपटक रेखाङ्कन भएपनि भूमाफिया चाम्लिङले राजनीतिक शक्ति प्रयोग गरेर जोगाउँदै आएका थिए। बालेनको सुशासनको डोजरलाई भने भूमाफिया चाम्लिङले रोक्न सकेनन्।

भूमाफिया चाम्लिङले ४०९ नम्बरको कित्तामा समेत अर्को ४ तले घर खडा गरेका छन्। लालपूर्जा रहेको ५२४ नम्बरको जग्गाको केही भाग र ४०९ नम्बरको सरकारी जग्गा कब्जा गरेर उक्त घर खडा गरेका छन्। सर्वोच्च अदालतले समेत रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्न आदेश दिइसक्दा भूमाफिया चाम्लिङ रावल आयोगभित्र पर्ने जग्गाको लालपूर्जा देखाएर होहल्ला गरिरहेका छन्।

भूमाफिया चाम्लिङले दर्ता गराएको उक्त दुषित लालपूर्जा खारेज गरेर उनीमाथि ठगी र मालपोत र नापीका कर्मचारीमाथि तत्काल भ्रष्टाचार मुद्दा चलाउनु पर्ने देखिन्छ।

भूमाफिया चाम्लिङको घर रहेको कित्ता नम्बर ५५ पनि सरकारी जग्गामा पर्छ। त्यस्तै १०७ नम्बर कित्तामा रहेको सरकारी जग्गामा भूमाफिया चाम्लिङ र एमाले नेता हेमराज घिसिङले संरचना खडा गरेका छन्। चाम्लिङ आफू बस्ने हरियो घर ५५५ र ७७७ मात्र नम्बरी देखिन्छ। त्यसबाहेक ५५२ र ७७१ रावल आयोग भित्रपर्छ। उक्त ठाउँमा रहेको सार्वजनिक ढुङ्गेधारा समेत भूमाफिया चाम्लिङले आफ्नो कम्पाउण्डभित्र हालेर निजी प्रयोजनमा प्रयोग गरिरहेका छन्। सार्वजनिक ढुङ्गेधारा भूमाफिया चाम्लिङले कब्जा गर्दा आम नागरिकले पानी खान पाएका छैनन्। त्यो क्षेत्रमा भूमाफिया चाम्लिङले ब्रिक्री गरेको क्षमरानी राई, अर्चना पोखरेलको जग्गा पनि रावल आयोगभित्र पर्छ। रावल आयोगभित्र पर्ने कित्ता नम्बर ४३०, ४३४, ४४८ र ७४१, ३३४, ३३६, ५८२, ५८४ जग्गा रावल आयोगले छुट्याएको जग्गाभित्र पर्छ।

त्यस्तै सिट नम्बर १०२-११४६-०२ कित्ता नम्बर ५४७, ८३३, ८१९, ८३४, ७९५, ५४८, ७६८, ६१६, ६०९, ३३४, ४४८, ७४१, ७१४, ७१२, ७९४, ४२६ जग्गाहरूमा पनि रावल आयोगको प्रतिवेदनले कैफियत देखाएको छ। उक्त जग्गा फिर्ता ल्याउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहितका सम्बन्धित निकायले तत्काल कदम चाल्नु पर्ने देखिन्छ।

क्याटेगोरी : समाचार
ट्याग : #भूमाफिया इन्द्र कुमार चाम्लिङ

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ