अनुसूचीमा समावेश हुन छुट्दा मेडिकल र फार्मेसी काउन्सिलका रजिस्ट्रार जोगिए


काठमाडौं । सरकारले एकै दिन १५९४ जना राजनीतिक नियुक्ति पाएका पदाधिकारीलाई पदमुक्त गरेपछि स्वास्थ्य क्षेत्रका दुई महत्वपूर्ण नियामक निकाय भने चर्चाको केन्द्रमा आएका छन्। नेपाल मेडिकल काउन्सिल र नेपाल फार्मेसी काउन्सिलका पदाधिकारीहरूलाई किन नछोइएको भन्ने विषय अहिले सर्वत्र चासोको विषय बनेको छ।
 
नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा. सतिश कुमार देव र फार्मेसी काउन्सिलको रजिस्ट्रार संजिव कुमार पाण्डेयकाे पद यथावत रहनुले थप जिज्ञासा पैदा गरेको छ। तर देवले भने यो कुनै नियोजित निर्णय नभई प्रक्रियागत त्रुटिका कारण भएको संकेत गरेका छन्।
 
सवास्‍थ्य लाइभसँग कुरा गर्दै उनले भने, “१५९४ जनाको राजनीतिक नियुक्ति खारेज हुँदा दुईजनामात्र जोगिनुपर्ने कुनै कारण छैन। हामीलाई लाग्छ, यी दुई निकायको अनुसूची समावेश गर्न छुटेको हो।”
 
उनले आफू पदमा बसिरहनुपर्ने कुनै बाध्यता नभएको स्पष्ट पार्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी गराएमा तत्काल हट्न तयार रहेको बताए।
 
“सरकारले नै पदमुक्त नगरेको अवस्थामा आफैं राजीनामा दिनु भनेको आफ्नो योग्यता र क्षमतामाथि प्रश्न उठाउनु हो,” उनले भने, “प्रधानमन्त्री कार्यालय वा मन्त्रालयबाट लिखित वा मौखिक निर्देशन आएमा म पछि हट्न तयार छु।”
 
सरकारको निर्णयपछि अधिकांश राजनीतिक नियुक्ति पाएका पदाधिकारी हटाइए पनि स्वास्थ्य क्षेत्रका यी दुई निकाय किन छुटे भन्नेबारे आधिकारिक स्पष्टता भने अझै आएको छैन। यसले निर्णय प्रक्रियामा कमजोरी भएको हो कि नियतवश छुटाइएको हो भन्ने बहसलाई थप चर्काएको छ।

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ