हडपियो खोटाङ हलेशी महादेवको १४३ रोपनी जग्गा
काठमाडौं। नेपालमा धार्मिक महत्त्वको जग्गा हडप्न प्रतिस्पर्धा देखिन्छ। मठ मन्दिरका जग्गाहरू हडप्न भूमाफियाहरूको बिगबिगी रहेको पाइन्छ। स्वर्गद्वारी आश्रमको सयौं बिगाहा जग्गा हडपेका भूमाफियाहरूले हलेशी महादेवलाई पनि सुकुम्बासी बनाउने अवस्था देखिन्छ।
हलेशी महादेवलाई सञ्चालन गर्न बनाइएको हलेश्वर महादेव राजगुठीको जग्गा भूमाफियाहरूको कब्जामा पुगेको पाइएको छ। उक्त गुठीको १४३ रोपनी ७ आना जग्गा भूमाफियाहरूले हिनामिना गरेको पाइएको हो। खोटाङ हलेसी महादेवको अस्तित्व नै संकटमा पार्नेगरी जग्गा हिनामिना गरेको देखिन्छ।
खोटाङ जिल्ला साबिक महादेवस्थान गा. वि. स. वडा नम्बर ४ र ५ हाल परिवर्तित हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ७ को हलेसी महादेव गुठीको १४३ रोपनी ७ आना जग्गा २३ जनाको नाममा दुषित दर्ता भएको फेला परेको हो। मोहनरमण भट्टराई नेतृत्वको सरकारी सार्वजनिक गुठी जग्गा हिनामिना छानबिन आयोगले हलेशी महादेव कै जग्गा हडपेको फेला पारेको हो।
आयोगले व्यक्ति विशेषको नाममा रैकर दर्ता बदर गरी हलेश्वर महादेव गुठीको गुठी तैनाथी जग्गाका रूपमा कायम गर्न नेपाल सरकारले गुठी संस्थानलाई निर्देशन दिनुपर्ने सिफारिस गरेको छ। साथै राजगुठीकोको जग्गा गैरकानुनी रूपमा नाप नक्सा, दर्ता र हक हस्तान्तरण गर्ने कार्यमा संलग्न कर्मचारी, महन्थ/ पूजारी तथा अन्य व्यक्ति विशेषउपर भ्रष्टाचार निवारण ऐनबमोजिम थप छानबिन, अनुसन्धानर कारबाहीका लागि सम्बन्धित निकायमा लेखी पठाउन भनेको छ। बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले उक्त प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरिसकेकाले हलेसी महादेवको जग्गा खानेहरू कानुनी दायरामा आउने सम्भावना बढेको हो।


तपाईको प्रतिक्रिया दिनुहोस