सिंहदरबार अगाडि धोबीखोलामा सञ्चालित मदन भण्डारी मेमोरियल कलेज


काठमाडौं। मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार अगाडि अनामनगर र बानेश्वर छुट्याएर धोबीखोला बग्छ। उक्त धोबीखोलाले धार परिवर्तन गर्दा काठमाडौं महानगरपालिका वडा नम्बर १० को फाँटतिर बगर बनेको थियो। साबिक धोबीखोला बग्ने उक्त जग्गामा अहिले मदन भण्डारी मेमोरियल कलेज सञ्चालन भइरहेको छ। सरकारी कलेजभन्दा निकै महँगो शुल्क असुल्ने मदन भण्डारी मेमोरियल कलेजले करिब ४ रोपनी सरकारी जग्गामा कलेज सञ्चालन गरिरहेको हो।

कुनै बेला अनामनगर हुँदै धोबीखोला बग्दा बाढी आएको बेला सिंहदरबारको गेटसम्मै पानी पुग्ने गरेको चर्चा हुने गरेको छ। धोबीखोलाले धार परिवर्तन गरेपछि भने अनामनगर र मदन भण्डारी मेमोरियल कलेज आसपासको क्षेत्र डुबानमा पर्ने गरेको छ। उक्त क्षेत्रमा शिक्षाको व्यापार गरेर मदन भण्डारी कलेज सञ्चालन भइरहेको देखिन्छ।

२०५८ सालमा मदन भण्डारी अध्ययन अनुसन्धान केन्द्रका नाममा ३ रोपनी ११ आना २ पैसा २ दाम सरकारी जग्गा लिएर नाफामूलक मदन भण्डारी मेमोरियल कलेज सञ्चालन गरिरहेको पाइन्छ। उक्त कलेजको आम्दानी नेपाल सरकारको खातामा भने जाँदैन।

स्वास्थ्य लाइभको खोजीमा साबिक १४३ नम्बर कित्ता धोबीखोला जनिएको जग्गा भूमाफियाहरूको चलखेलमा विभिन्न कित्तामा विभाजन गरिएको पाइन्छ। २०५८ कार्तिक ५ गते नगर १० सिट नम्बर १०२-११४६-०१ र १०२-११४६-०६ कित्ता नम्बर १, ५२, ११५, १६५, १७३, २०६, २०८, २१३ मदन भण्डारी अध्ययन अनुसन्धान केन्द्रले भोगाधिकारमा लिएको देखिन्छ। भूमाफिया इन्द्र चाम्लिङको हरियो घरबाट अनामनगर हुँदै वाणगंगा खोलासँग मिसिने धोबीखोलाको अन्तिम भागतिर अहिले मदन भण्डारी मेमोरियल कलेजले बडेमानको भवन बनाएर कब्जा जमाइरहेको छ।

२०२१ सालको नापीमा साबिक काठमाडौं जिल्ला महादेवस्थान गाउँ पञ्चायत वडा नम्बर ५ मा पर्ने १४३ को २३ रोपनी जग्गा नेकपा एमाले सिन्धुलीका नेता हेमबहादुर घिसिङ र भूमाफिया इन्द्रकुमार चाम्लिङले १०७ नम्बर कित्ता मिचेर संगोलमा बनाएको घर हुँदै काठमाडौं महानगरपालिका वडा नम्बर १० ले बनाएको स्वास्थ्य भवनसम्म पर्छ। उक्त ठाउँमा बानेश्वरको वाणगंगा ढुङ्गेधारा हुँदै बगेर आउने वाणगंगा खोला र धोबीखोलाको संगम स्थल रहेको पाइन्छ। तर, अहिले उक्त स्थानमा धोबीखोला र वाणगंगा दुबैको अस्तित्व भेटिँदैन। ५/७ तले आलिसान भवन मात्र देखिन्छन्।

काठमाडौं जिल्ला महादेवस्थान गाउँ पञ्चायतको वडा नम्बर ४ र ५ छुट्याउने बिन्दुबाट सुरू भएको कित्ता नम्बर १४३ वाणगंगा दोभानसम्म फैलिएको पाइन्छ। काठमाडौं महानगरपालिका वडा नम्बर १० धोबीखोला करिडोरमा मदन भण्डारी मेमोरियल कलेजले २०५८ सालदेखि अध्ययन अनुसन्धान केन्द्रका नाममा भोगाधिकारमा लिएर व्यवसायिक कलेज सञ्चालन गरेको जग्गा पनि साबिक १४३ नम्बरको धोबीखोलाभित्रै पर्ने देखिन्छ।

धोबीखोलाको जग्गामा भूमाफिया इन्द्रकुमार चाम्लिङले साम्राज्य खडा गरेको ठाउँदेखि चाम्लिङले कब्जा गरेको ढुङ्गेधारा, अक्सिडेन्टल पब्लिक स्कुल, अग्नीप्रसाद पौडेल, हरिप्रसाद गिरी, दशनारायण महर्जनको नाममा रहेको जग्गा, काठमाडौं महानगरपालिका वडा नम्बर २९ को भवन, सामाजिक विकास समाजको भवन, अनामनगरको अव्यवस्थित बस्ती, करुणाकेश्वर मन्दिर, मदन भण्डारी मेमोरियल कलेज हुँदै विभिन्न व्यक्ति संस्थाले उक्त जग्गा हडपेका छन्। २०२१ सालको नापीमै धोबीखोला जनिएको जग्गा अहिले भूमाफिया र राजनीतिक पहुँचवालाको कब्जामा पुगेको हो।

मदन भण्डारी मेमोरियल कलेजले भोगाधिकारमा लिएको उक्त जग्गामा भोगाधिकार स्वतः समाप्त भएको छ। सरकारी जग्गा दर्ता, उपयोग तथा लिजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति, २०७९ (दोस्रो संशोधन)को दफा २१ को उपदफा (२)बमोजिम साविकमा भोगाधिकार पाएका पक्षहरूलाई उक्त जग्गा लिजमा परिणत गर्न ६ महिनाको समय दिइएको थियो। तर, उक्त म्यादभित्र निवेदन नदिने व्यक्ति, संस्था वा निकायहरूको हकमा भोगाधिकारको कानुनी हैसियत स्वतः समाप्त भइसकेको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले जनाएको छ।

मन्त्रालयले जारी गरेको सूचनामा भोगाधिकार समाप्त भइसकेका जग्गा र त्यसमा निर्माण गरिएका भौतिक संरचनाहरू तत्काल खाली गर्न निर्देशन दिएको छ। स्नातकोत्तरसम्म पढाइ हुने मदन भण्डारी मेमोरियल कलेज पनि कानुनभन्दा माथि देखिँदैन। उक्त सूचना मदन भण्डारी मेमोरियल कलेजको हकमा पनि लागू हुन्छ। राज्यले उक्त भवन पनि सरकारी प्रयोजनका लागि उपयोगमा ल्याउने सम्भावना देखिन्छ।

क्याटेगोरी : समाचार
ट्याग : #१४३ को २३ रोपनी मध्ये जग्गा, #अक्सिडेन्टल पब्लिक स्कुल (ओपीएस), #भूमाफिया इन्द्र कुमार चाम्लिङ, #भोगाधिकार धोबीखोला, #मदन भण्डारी मेमोरियल कलेज

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ