आफ्नो आङको भैँसी नदेख्ने, अस्पतालमा सिरिन्ज खोज्ने ?
स्वास्थ्य मन्त्रालय पानीको पोखरी, तर मन्त्री सांसदकाे वीर अस्पतालमा ‘एप्रोन राजनीति’
काठमाडौं । सरकारले अहिले ‘सरसफाइ सप्ताह’ मनाइरहेको छ। मन्त्री, सांसद र केही टोली स्वास्थ्यकर्मीलाइ एप्रोन लगाएर झाडु लगाएका दृश्यहरू सार्वजनिक भइरहेका छन्। वीर अस्पतालमा सिरिन्ज भेटिएको भन्दै कर्मचारीलाई क्यामेराअघि उभ्याएर प्रश्न गर्ने, भिडियो खिच्ने र त्यसलाई सुधार अभियानको रूपमा प्रस्तुत गर्ने काम भइरहेको छ। तर यतिबेला सबैभन्दा ठूलो प्रश्न यही हो—आफ्नै मन्त्रालयको अवस्था कस्तो छ ?
रामशाहपथस्थित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय पानी र फाेहाेर जमेर पोखरीजस्तै बनेको छ। मन्त्रालयअन्तर्गतका कार्यालयहरूमा पुग्न कर्मचारी र सेवाग्राहीले हिलो र पानी छल्नुपर्ने अवस्था छ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् जस्तो निकायको परिसरसमेत अस्तव्यस्त छ। मन्त्रालयका शाखाहरू छरिएर बसेका छन्, पूर्वाधार अव्यवस्थित छ, सरसफाइ कमजोर छ। तर त्यो दृश्यतर्फ स्टण्ड गर्नेहरूको ध्यान कम छ।

ध्यान छ त केवल अस्पतालमा एप्रोन लगाएर झाडु बोकेको दृश्य बनाउन। यदि साँच्चै स्वास्थ्य क्षेत्र सुधार गर्ने हो भने सुरुवात आफ्नै मन्त्रालयबाट हुनुपर्छ। आफ्नै कार्यालय परिसर सफा, सुरक्षित र व्यवस्थित बनाउन नसक्ने नेतृत्वले अस्पतालमा गएर कर्मचारीलाई हप्काउँदै फोटो खिचाउनु कति नैतिक हुन्छ ?
अस्पताल संवेदनशील ठाउँ हो। त्यहाँ संक्रमण नियन्त्रणको निश्चित प्रणाली हुन्छ। अस्पतालमा सयौँ सरसफाइ कर्मचारी नियुक्त छन्। उनीहरूको क्षमता र व्यवस्थापन सुधार गर्नु सरकारको दायित्व हो। तर मन्त्री र सांसद स्वयंले एप्रोन लगाएका स्वास्थ्यकर्मीलाई झाडु बाेकाएर क्यामेरा अगाडि देखाउनु सुधारभन्दा बढी प्रदर्शनजस्तो देखिन्छ।
झन्, अनभिज्ञ रूपमा अस्पताल क्षेत्रमा गरिने यस्ता गतिविधिले संक्रमण जोखिमसमेत बढाउन सक्छ। स्वास्थ्य क्षेत्रमा सुधार ‘स्टन्ट’ ले होइन, प्रणालीले हुन्छ।
जहाँ देशको स्वास्थ्य नीति बन्छ, त्यही ठाउँ हिलो र फोहोरले भरिएको छ। जहाँबाट अस्पताल सुधारको निर्देशन जान्छ, त्यही संरचना आफैँ अव्यवस्थित छ। त्यसैले अहिले जनताले सोधिरहेका छन्, पहिला मन्त्रालय सफा गर्ने कि अस्पतालमा अभिनय गर्ने ?

“आफ्नो आङको भैँसी नदेख्ने, अर्काको आङको जुम्रा देख्ने” भन्ने उखान अहिले स्वास्थ्य मन्त्रालयमै मेल खाएको देखिन्छ। आफ्नै संरचनाको अस्तव्यस्तता नदेख्ने, तर अस्पतालमा एउटा सिरिन्ज भेटिँदा त्यसलाई तमासा बनाउने प्रवृत्तिले सुधार होइन, केवल प्रचार जन्माउँछ।

स्वास्थ्य क्षेत्रलाई वास्तवमै सुधार गर्ने हो भने मन्त्रालयका बिखण्डित संरचना व्यवस्थापन गर्नुपर्छ, अनुसन्धान निकायको अवस्था सुधार्नुपर्छ, अस्पताल व्यवस्थापन वैज्ञानिक बनाउनुपर्छ र सरसफाइलाई प्रणालीसँग जोड्नुपर्छ।
दुई घण्टा एप्रोन लगाएर झाडु बोकेर होइन, दीर्घकालीन नीति र व्यवस्थापकीय जिम्मेवारीबाट मात्रै स्वास्थ्य क्षेत्र बदलिन्छ।
क्याटेगोरी : समाचार, सार्वजनिक सरोकारट्याग : ##Bir hospital


तपाईको प्रतिक्रिया दिनुहोस