तीन करोडको भ्रष्टाचार मुद्दामा डामिए उपसचिवत्रय ढकाल, तिवारी र डाँगी
काठमाडौं। झन्डै तीन करोड रुपैयाँ राजस्व हिनामिनाको भ्रष्टाचार मुद्दामा उपसचिवत्रय टिकाराम ढकाल, नरहरी तिवारी र गेहेन्द्रबहादुर डाँगी डामिएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपसचिवत्रय ढकाल, तिवारी र डाँगीसहित पाँचजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। सुर्खेत उपत्यका नगर विकास समिति वीरेन्द्रनगरको आम्दानी राजस्व हिनामिना गरेको आरोपमा अख्तियारहरूविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो। लेखा अधिकृत हरिबहादुर क्षत्री (दिवंगत) र सहलेखापाल खड्कबहादुर राना समेत उक्त भ्रष्टाचार मुद्दामा डामिएका छन्।
अख्तियारले नगर विकास समितिका तत्कालीन सदस्य सचिवहरू ढकाललाई ६४ लाख २८ हजार ४३७, तिवारीलाई एक करोड चार लाख ७१ हजार ९४२ र डाँगीलाई ७२ लाख ७८ हजार ११० बिगो कायम गरेको छ। वीरेन्द्रनगर नगरपालिकाको प्रमुख प्रशासकीय हुँदा समितिको सदस्य सचिवको भूमिकामा हुँदा उनीहरू नगर विकास समितिको सदस्य रहेका थिए। सदस्यको भूमिकामा राजस्व हिनामिनामा संलग्न भएको आरोप लगाउँदै अख्तियारले उपसचिवत्रय ढकाल, तिवारी र डाँगीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।
अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेसँगै वैदेशिक रोजगार विभाग, इपिएस शाखाको निर्देशक रहेका टिकाराम ढकाल, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको निर्देशक रहेका नरहरी तिवारी र लमही नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगी निलम्बनमा परेका छन्। ढकाल वैदेशिक रोजगार बोर्ड र तिवारी यातायात व्यवस्था विभागमा लामो समय बसेर रजगज गरेका उपसचिव हुन्।
अख्तियारका अनुसार आपसी मिलेमतो र योजनामा नगर विकास समितिको आर्थिक वर्ष ०७६/७७, ०७७/७८, ०७८/७९, ०७९/८० र ०८०/८१ को आम्दानी रकम हिनामिना गरेको पाइन्छ। भाडाबापत समितिमा असुली रसिदबाट चार करोड १८ लाख चार हजार ३०३ रुपैयाँ राजस्व आम्दानी भएको थियो। उक्त रकम समितिको राजस्व खातामा दाखिला गराउनुपर्ने कानुनी व्यवस्था छ। तर, त्यसमध्ये एक करोड २३ लाख २५ हजार ६२२ मात्र समितिको खातामा दाखिला गरेर बाँकी दुई करोड ९४ लाख ७८ हजार ६८१ रुपैयाँ हिनामिना गरेको अख्तियारले जनाएको छ।



ट्याग : #गेहेन्द्रबहादुर डाँगी, #टिकाराम ढकाल, #नरहरी तिवारी


तपाईको प्रतिक्रिया दिनुहोस