खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्ने भनिएको ‘क्यान’को डिजी अहिलेसम्म किन नियुक्त हुन सकेनन्?
काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेस)ले नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक खुला प्रतिस्पर्धाबाट नियुक्त गर्ने घोषणा गरेका थिए। मन्त्री पौडेलले इतिहासमै पहिलोपटक प्राधिकरणको महानिर्देशक नियुक्ति प्रतिस्पर्धाबाट हुन लागेको दाबी गर्दै अब ‘मन्त्रीको खल्तीबाट टपक्क झिकेर’ नियुक्ति गर्ने दिन गएको बताएका थिए। एक हप्ता समय दिएर आवेदन माग गरिएकोमा क्यानका डिजीका लागि २१ जनाले आवेदन दिएका थिए। तर, उनीहरूको प्रस्तुतिकरण र अन्तर्वार्ता सकिएपनि रिजल्ट निकाल्न भने ढिलाई भइरहेको छ। मन्त्री निकट स्रोत छिट्टै क्यानले डिजी पाउने दाबी गर्छन्। नतिजा सार्वजनिक नहुँदा चलखेलको आशंका गर्न थालिएको हो।
क्यानको डिजीका लागि प्रभाकर चन्द मल्लिक, उसवराज खरेल, श्यामकिशोर साह, प्रमोदकुमार चौधरी, मुरारीप्रसाद पौडेल र जसोदा सुवेदी रेग्मी, लवराज जोशी, जगन्नाथ निरौला, विष्णु गौतम, प्रेमनाथ ठाकुर, त्रिलोचन पौडेल, देवेन्द्रप्रसाद पाण्डेय, टेकनाथ सिटौला, अर्जुन बस्नेत, लक्ष्मीप्रसाद उपाध्याय, उमेशकुमार पन्थी, दिपेन्द्र श्रेष्ठ, ज्ञानेन्द्र भुल, सुभाष झा, मुकेश डंगोल र संजयकुमार रहेका छन्। क्यानको डिजीका लागि सबै प्रक्रिया पूरा भइसक्दा पनि नतिजा सार्वजनिक नगर्दा आशंका उत्पन्न हुन थालेको छ। मन्त्री पौडेलले भनेजस्तै ‘मन्त्रीको खल्तीबाट टपक्क झिकेर’ नियुक्ति गर्ने दिन जानका क्यानको डिजीको प्राप्ताङ्कसहितको नजिता तत्काल सार्वजनिक गर्न आवश्यक छ। क्यानको डिजीको नियुक्तिमा ढिलाइ हुँदा अनेकौं आशंका उत्पन्न हुन थालेकाले मन्त्रीले क्यानको डिजी नियुक्तिका लागि तत्काल कदम चाल्नुपर्ने देखिन्छ।
क्यानको डिजी र नेपाल वायु सेवा निगमको सञ्चालक समिति सदस्य इतिहासमै पहिलोपटक खुला प्रतिस्पर्धा र निष्पक्ष ढंगले नियुक्त गर्ने उद्घोष गरेका मन्त्री पौडेलले क्यान र निगमका सबै प्रतिस्पर्धीहरूको नम्बरसहित रिजल्ट सार्वजनिक गरिदिए चलखेलको आशंका स्वत: मेटिन्छ। यसले नियुक्तिलाई थप पारदर्शी र विश्वसनीय बनाउँछ। मन्त्रीमाथि समेत विश्वास बढ्ने अवस्था आउँछ।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस