वायुसेवा निगमको सञ्चालक सदस्य नियुक्तिमा पारदर्शितामाथि प्रश्न उठाउँदै पऱ्यो ‘हेलो सरकार’मा उजुरी
काठमाडौं। नेपाल वायु सेवा निगमको सञ्चालक समितिको सदस्य नियुक्ति गर्दा प्रक्रिया पारदर्शी नभएको भन्दै ‘हेलो सरकार’मा उजुरी परेको छ। प्रधानमन्त्रीलाई सम्बोधन गर्दै हालिएको उजुरीमा प्रक्रियामा पारदर्शिता कायम गरी छानबिनपश्चात मात्र नियुक्ति गर्न अनुरोध गरिएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले निगमको सञ्चालक समिति सदस्यमा ५ जनालाई नियुक्त गरेका थिए। पौडेलले मन्त्रीस्तरीय निर्णयबाट पोखराका डा. दिपकप्रसाद बास्तोला, चितवनका प्रविण भट्टराई, ललितपुरका महेश्वरभक्त श्रेष्ठ, काठमाडौंका रूपा लामिछाने र स्याङ्जाका लिलाराज ढकाल निगमको सञ्चालक समिति सदस्यमा नियुक्त गरेका थिए।उनीहरूलाई ७ दिनभित्र नियुक्ति लिन आउन समेत मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख गरिएको छ। पारदर्शी र निष्पक्ष ढंगले नियुक्ति गर्ने र खल्तीको मान्छे नियुक्ति नगर्ने घोषणा गरेका मन्त्री पौडेलको गरेको नियुक्तिको पारदर्शितामाथि पश्न उठाउँदै उजुरी परेको पाइएको हो।
‘संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आधिकारिक फेसबुक पेजमार्फत प्रकाशित नतिजामा उम्मेदवारहरूको प्राप्ताङ्क, मूल्याङ्कन आधार तथा छनोट प्रक्रियासम्बन्धी स्पष्ट विवरण सार्वजनिक नगरिएको कारण उक्त प्रक्रियामाथि स्वाभाविक रूपमा प्रश्न तथा शंका उत्पन्न भएका छन्। सार्वजनिक संस्थानजस्तो संवेदनशील निकायको नेतृत्व चयन प्रक्रियामा पारदर्शिता अभाव देखिनु स्वयं सरकारकै सुशासन अभियानमाथि प्रश्न उठ्ने अवस्था सिर्जना हुन सक्ने देखिन्छ।’, उजुरीमा भनिएको छ, ‘योग्यता, क्षमता र निष्पक्ष प्रतिस्पर्धाका आधारमा नियुक्ति हुने प्रणालीप्रति नागरिकको विश्वास कायम राख्न पनि सम्पूर्ण उम्मेदवारहरूको प्राप्ताङ्कसहितको विस्तृत नतिजा सार्वजनिक हुनु आवश्यक देखिन्छ। यसले योग्य व्यक्तिको सम्मान मात्र होइन, राज्य संयन्त्रमाथिको जनविश्वासलाई समेत मजबुत बनाउनेछ।’,
उजुरी परेसँगै निगमको सञ्चालक समिति सदस्य नियुक्ति प्रक्रिया विवादमा परेको छ। प्रधानमन्त्रीलाई सम्बोधन गर्दै नेपाल वायु सेवा निगमको सञ्चालक नियुक्ति प्रक्रियासम्बन्धी सम्पूर्ण विवरण पारदर्शी रूपमा सार्वजनिक गर्न, आवश्यक छानबिन गरी प्रक्रियाको निष्पक्षता सुनिश्चित गर्न तथा सम्पूर्ण शंका समाधान नभएसम्म नियुक्ति प्रक्रिया अगाडि नबढाइदिन अनुरोध गरिएकाे छ। उक्त प्रकरणमा मन्त्री विवादमा परेका हुन।
नेपाल वायु सेवा निगमको सञ्चालक समिति सदस्य इतिहासमै पहिलोपटक खुला प्रतिस्पर्धा र निष्पक्ष ढंगले नियुक्त गर्ने उद्घोष गरेका मन्त्री पौडेलले सबै प्रतिस्पर्धीहरूको नम्बरसहित रिजल्ट सार्वजनिक गरिदिए पारदर्शितामाथि प्रश्न उठ्दैन। यसले नियुक्तिलाई थप पारदर्शी र विश्वसनीय बनाउँछ। मन्त्रीमाथि समेत विश्वास बढ्ने अवस्था आउँछ। त्यसैले नतिजा सार्वजनिक गरेर के कारणले नियुक्ति गरिएको हो त्यसलाई छर्लङ्ग र प्रस्ट पार्न जरूरी देखिन्छ।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस