अध्यादेशबाट पदमुक्त भएका स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति छनौट प्रक्रिया अघि बढ्यो
काठमाडौं। बालेन सरकारले अध्यादेशबाट पदमुक्त भएका स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति छनौट प्रक्रिया अघि बढाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतका ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति छनोट प्रक्रिया अघि बढाएको हो।
अध्यादेशबाट पदमुक्त भइ रिक्त भएका स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आवेदन मागेको छ। १० दिनको समय दिएर मन्त्रालयले सिफारिस समितिमार्फत दरखास्त आह्वान गरेको हो।
बालेन सरकारले एकसाथ चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान उपकुलपति नियुक्ति गर्ने प्रक्रिया अघि बढाएको छ। उपकुलपति पदका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८३ बमोजिम दरखास्त आह्वान गरिएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ। उपकुलपति छनौटको पक्रिया अघि बढेसँगै जेठ महिनाभित्रै स्वास्थ्य विज्ञान प्रतिष्ठानरूले नयाँ उपकुलपति पाउने अवस्था देखिन्छ।


तपाईको प्रतिक्रिया दिनुहोस