हेटौंडा उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत रिक्त, कलैया निमित्तको भरमा
काठमाडौं। सहसचिव प्रमुख प्रशासकीय अधिकृत भएर सहजै जाने हेटौंडा उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन भएको छ। हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत गौतम ५८ वर्ष पूरा भएर अनिवार्य अवकाशमा गएपछि उक्त ठाउँ खाली भएको हो। सहसचिवमा बढुवा हुनेवित्तिकै गौतम हेटौंडाको प्रमुख प्रशासकीय अधिकृत भएर गएका थिए। एक वर्ष बढी बसेपछि ५८ वर्ष पूरा भएर गौतम घर गएका हुन्। जेठ ३ गतेबाट हेटौंडा उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन अवस्थामा रहेको छ।
हेटौंडा उपमहानगरपालि काठमाडौंबाट नजिकै र काम गर्न पनि सहज भएकाले सहसचिवहरू सहज रूपमै जाने गरेका छन्। तर, बाराको कलैया उपमहानगरपालिकामा सहसचिव पठाउन निकै मुस्किल पर्ने गरेको देखिन्छ। कलैया उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत रहेका राम विनयकुमार सिंह उपसचिव हुन्। अन्य उपमहानगरपालिका सहसचिवलाई नै प्रमुख प्रशासकीय अधिकृत पठाइएपनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कलैयामा सहसचिवलाई पठाउन सकेको छैन। निमित्तको भरमा कलैया उपमहानगरपालिका चलिरहेको पाइन्छ।
बारा कै जीतपुरसिमरा उपमहानगरपालिकामा सहसचिव डमरूप्रसाद निरौला प्रमुख प्रशासकीय अधिकृतको भूमिकामा रहेका छन्। उनी पनि सहसचिव हुनेवित्तिकै उक्त उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएर गएका हुन्। मन्त्रालयले नजिकैको कलैया उपमहानगरपालिकामा भने मन्त्रालयले सहसचिवलाई प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाउन सकेको देखिंदैन।
धरान उपमहानगरपालिकामा सहसचिव तीर्थराज राई, इटहरी उपमहानगरपालिकामा सहसचिव महेश पराजुली, जनकपुरधाम उपमहानगरपालिकामा सहसचिव ज्ञानहरि घिमिरे र वुटवल उपमहानगरपालिका सहसचिव सहसचिव दिपक ज्ञवाली प्रमुख प्रशासकीय अधिकृतको भूमिकामा रहेका छन्।
घोराही उपमहानगरपालिकामा सहसचिव चन्द्रप्रसाद भुसाल र तुलसीपुर उपमहानगरपालिकामा टेकनारायण पौडेललाई प्रमुख प्रशासकीय अधिकृतमा खटाइएको छ। तर, घोराही उपमहानगरपालिकाको वेबसाइटमा उपससचिव रामबहादुर हमाल र तुलसीपुर उपमहानगरपालिकाको वेबसाइटमा केशवराज पार्धे नै प्रमुख प्रशासकीय अधिकृत रहेको देखिन्छ।
नेपालगञ्ज उपमहानगरपालिकामा सहसचिव मानबहादुर बम र धनगढी उपमहानगरपालिका सहसचिव जनकराज भट्ट प्रमुख प्रशासकीय अधिकृतको भूमिकामा रहेका छन्। हेटौडा उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत सहसचिव भरत गौतम अवकाशमा गएकाले रिक्त भएको हो। तर, कलैयामा भने सहसचिवलाई प्रमुख प्रशासकीय अधिकृत पठाएको छैन। हेटौंडा र कलैयामा खुला प्रतिस्पर्धाबाट आउन लागेका सहसचिवलाई प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाउन सक्ने सम्भावना पनि उत्तिकै रहेको छ।
क्याटेगोरी : समाचारट्याग : #भरत गौतम


तपाईको प्रतिक्रिया दिनुहोस