भक्तपुर, ललितपुर र सिन्धुपाल्चोकले पाए सिडिओ


काठमाडौं। भक्तपुर, ललितपुर र सिन्धुपाल्चोक जिल्लाले प्रमुख जिल्ला अधिकारी पाएका छन्। ललितपुरका सिडिओ प्रेमप्रसाद भट्टराई ५८ वर्ष पूरा भएर अवकाशमा गएपछि डेढ हप्तादेखि उक्त जिल्ला सिडिओविहीन अवस्थामा थियो। गृह मन्त्रालयले नरहरि घिमिरेलाई ललितपुरको सिडिओमा पठाएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय, प्रमुख घिमिरे ललितपुरको सिडिओ भएका छन्। उनी अध्यागमन आउनुअघि खोटाङको सिडिओ थिए। घिमिरे ललितपुरको सिडिओ भएपछि अध्यागमन कार्यालय नेतृत्वविहीन हुने अवस्था सिर्जना भएको हो।

भक्तपुरको प्रमुख जिल्ला अधिकारीमा धनकुटाका सिडिओ विनोद खड्का आएका छन्। संखुवासभा, रौतहट जस्ता जिल्लाको सिडिओ चलाएका खड्का भक्तपुरको सिडिओ भएका हुन्। धनकुटाले भने नयाँ सिडिओ पाएको छैन। भक्तपुरका सिडिओ उमेशकुमार ढकालको बागमती प्रदेशमा सरूवा भएपनि उनी रमाना नलिइ बसेका थिए। अब भने खड्काका लागि कुर्सी छाड्नु पर्ने भएको छ।

अर्को रिक्त रहेको सिन्धुपाल्चोकमा शशीधर घिमिरे सिडिओ भएका छन्। कारागार व्यवस्थापन विभागबाट उनी सिन्धुपाल्चोकको सिडिओ भएर गएका हुन्। गत कार्तिकमा घिमिरे नुवाकोटबाट कारागार व्यवस्थापन विभागमा महानिर्देशक भएर आएका थिए। सिन्धुपाल्चोकका सिडिओ रामकृष्ण अधिकारी कोशी प्रदेश सरूवा भएर गएपछि उक्त जिल्ला सिडिओविहीन भएको थियो। गृह मन्त्रालयले घिमिरेलाई सिडिओ बनाएर पठाएको हो।

दाङको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललाई रुपन्देहीको सिडिओमा पठाएर रुपन्देहीका सिडिओ माधवप्रसाद पोखरेललाई कारागार व्यवस्थापन विभागको महानिर्देशक बनाइएको छ। लगातार सिडिओ खाएर अर्याल रुपन्देही जान सफल भएका हुन्। उनी गत भदौमा मात्र दाङ पुगेका थिए। लमजुङबाट रुपन्देही पुगेको छोटो समयमै पोखरेल कारागार व्यवस्थापन विभागको महानिर्देशक बनेका छन्।

दाङमा भने निश्चलराज पाण्डेलाई सिडिओ बनाएर पठाइएको छ। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा सरूवा भएर काठमाडौंमै बसेका पाण्डे दाङ पुगेका छन्। डडेल्धुरामा भने नयाँ सिडिओ पठाइएको छैन। डडेल्धुराका सिडिओ विष्णुप्रसाद कोइराला कोशी प्रदेशतिर पुगेपछि डडेल्धुरा सिडिओविहीन अवस्थामा रहेको छ। गृह मन्त्रालयले डडेल्धुरामा नयाँ सिडिओ पठाएको छैन। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले पनि नेतृत्व पाउन सकेन।

यता उपसचिव सिडिओ रहने रुकुम पश्चिममा पनि सिडिओ फेरिएका छन्। रुकुम पश्चिमका सिडिओ दिनेशप्रसाद थानीलाई गृह मन्त्रालय तानेर उक्त जिल्लाको सिडिओमा निशानराज गौतमलाई पठाइएको हो।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ