बोहरा सहसचिव भएपछि रिमाल बनेर जाने भए युएईको श्रम-सहचारी
काठमाडौं। संयुक्त अरब इमिरेट्सको श्रम-सहचारी (काउन्सेलर) मा छनौट भएका बसन्तबहादुर बोहरा सहसचिव बनेसँगै उपसचिव मेघनाथ रिमालको भाग्य चम्किएको छ। श्रम-सहचारी बनेर अबुधाबी उड्न लागेका बोहरा पिछडिएको क्षेत्रको कोटा प्रयोग गरेर सहसचिव बन्न सफल भएसँगै युएईको यात्रामा ब्रेक लागेको हो। बोहरा रोकिएसँगै प्रतिक्षा सूचीमा रहेका मेघनाथ रिमालले अबुधाबीको उडान भर्ने देखिन्छ।
श्रम मन्त्रालयले बैशाख १४ गते नेपाली राजदूतावास अबुधाबी, संयुक्त राष्ट्र इमिरेट्सका लागि श्रम-सहचारी छनौट गरेको थियो। मन्त्रालयले बसन्तबहादुर बोहरालाई श्रम-सहचारीमा छनौट गर्दै मेघनाथ रिमाललाई प्रतिक्षाको सूचीमा राखेको थियो। तर, अहिले आएर नतिजा उल्टिएको छ। छनौट भएका बोहरा नेपालमै अड्किएका छन्। प्रतिक्षाको सूचीमा रहेका उम्मेदवार रिमाल श्रम-सहचारी भएर अबुधाबी जाने अवस्था आएको छ। पर्खिबसे मौका आउँछ भने जस्तै भएको छ रिमालका लागि युएईका लागि श्रम-सहचारी पद!
निकै खिचातानीपछि बोहराले युएईको श्रम-सहचारी पदमा बाजी मारेका थिए। तर, उनको श्रम-सहचारी बन्ने सपना पिछडिएको क्षेत्रको कोटामा परेको सहसचिव पदले तुहाइदिएको हो। बोहराको यात्रा अबुधाबी होइन अछामतिर हुने सम्भावना छ। रिमाल जहाज चढेर अबुधाबीतिर प्रस्थान गर्ने निश्चित जस्तै देखिएको हो।
ट्याग : #बसन्त बहादुर बोहरा, #मेघनाथ रिमाल


तपाईको प्रतिक्रिया दिनुहोस