महानिर्देशकहरूसँग मिलेर सहकारीमा बेथिति मच्चाउने अधिकृत सन्देशप्रसाद जोशी


काठमाडौं। प्रायजसो सहकारीको बेथितिमा एक जना शाखा अधिकृत भेटिने गरेका छन्। उनी हुन् शाखा अधिकृत सन्देशप्रसाद जोशी सहकारी विभागका तत्कालीन रजिष्ट्रार डा. टोकराज पाण्डे, लिलाप्रसाद शर्मा, झलकराम अधिकारीसँग झन्डै दुई दर्जन सहकारीमा बेथिति निम्याउने उनै जोशी भेटिएका हुन्।

हाल धादिङको नेत्रावति डबजोङ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत रहेका जोशीले सहकारी विभाग हुँदा निकै रजगज गरेको पाइन्छ। पाण्डे, शर्मा र अधिकारीले सहकारीमा बेथिति ल्याउँदा जोशीको पनि संलग्नता रहेको पाइएको हो।

उच्च अदालतका पूर्वन्यायाधीश विनोदप्रसाद शर्मा नेतृत्वको सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२ को प्रतिवेदनमा डेढ दर्जन सहकारीमा अधिकृत जोशीको संलग्नता देखिएको हो। उनीमाथि विस्तृत अनुसन्धान गर्न आयोगले सिफारिस गरेको छ। छनौट गरेर हेरेका सहकारीमा अधिकांश सहकारीको सेवा केन्द्र विस्तारमा शाखा अधिकृत जोशीको संलग्नता देखिएपछि उक्त आयोगले उनीमाथि विस्तृत अनुसन्धान गर्न सिफारिस गरेको हो।

भक्तपुरमा दर्ता भएको शिवशिवर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सेवा केन्द्र विस्तारको स्वीकृति दिँदा सहकारी विभागका तत्कालीन रजिष्ट्रार डा. टोकराज पाण्डे र शाखा अधिकृत सन्देशप्रसाद जोशीको संलग्नता रहेको जाँचबुझ आयोगले जनाएको छ। आइएमई को-अपरेटिभ सर्भिस लिमिटेडको सेवा केन्द्र विस्तारमा पनि उनै जोशी मुछिएका छन्। काठमाडौं-२२ स्थित एसएनएस को-अपरेटिभ लिमिटेडको सेवा केन्द्र विस्तारमा पाण्डेसँग जोशी संलग्न रहेको जाँचबुझ आयोगले देखाएको छ। काठमाडौं कै जेविल्स सहकारी लिमिटेडको सेवा केन्द्र विस्तारमा पनि पाण्डे र जोशी कै संलग्नता भेटिएको हो। सर्लाहीको द सहारा सेभिङ्ग्स को-अपरेटिभ सोसाइटी लिमिटेड र धनगढी कैलालीको नवजीवन सहकारी संस्था लिमिटेडको सेवा केन्द्र विस्तारमा रजिष्ट्रार पाण्डे र शाखा अधिकृत जोशी संलग्न भएका हुन्।

मध्यविन्दु नवलपरासीको नवप्रतिभा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सेवा केन्द्र विस्तारमा जोशीले पाण्डेलाई साथ दिएका छन्। नयाँ बानेश्वर काठमाडौंको नेपाल सहकारी वित्तीय संस्था लिमिटेडको सेवा केन्द्र विस्तारमा पनि जोशी र पाण्डे मुछिएका हुन्। ललितपुरको लालिगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड केन्द्र विस्तारमा जोशी र पाण्डे नै संलग्न रहेका छन्। काठमाडौं घण्टाघरस्थित सिटी एक्सप्रेस बचत तथा ऋण सहकारीको सेवा केन्द्र विस्तार उनीहरू नै मुछिएका हुन्। बेथानचोकको समृद्ध नेपाल कृषि सहकारी संस्था लिमिटेडको सेवा केन्द्र विस्तारमा जोशी र पाण्डे कै मिलेमतो देखिन्छ। तुलसी बहुमुखी सहकारी संस्था लिमिटेडमा रजिष्ट्रार पाण्डेसँगै जोशी संलग्न रहेको पाइन्छ।

कैलालीको किसान बहुउदेश्यीय सहकारी संस्थाको एकीकरणमा सहकारी विभागका तत्कालीन रजिष्ट्रार टोकराज पाण्डेसँग शाखा अधिकृत सन्देशप्रसाद जोशी जोडिएका छन्। गैडाकोटको विकु बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सेवा केन्द्र विस्तारमा तत्कालीन रजिष्ट्रार टोकराज पाण्डे र त्यसपछिका रजिष्ट्रार लिलाप्रसाद शर्मासँग शाखा अधिकृत सन्देशप्रसाद जोशी संलग्न भएको पाइन्छ। इच्छाकामनाको मर्स्याङ्दी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको बेथितिमा तत्कालीन रजिष्ट्रार शर्मासँग जोशी जोडिएका छन्।

काठमाडौं कलिमाटीको औंचो पैचो सहकारी संस्था लिमिटेडको सेवा केन्द्र विस्तारमा सहकारी विभागका तत्कालीन रजिष्ट्रार लिलाप्रसाद शर्मा र शाखा अधिकृत जोशीको मिलेमतो देखिन्छ। किसान बहुउद्देश्यीय सहकारी संस्थामा रजिष्ट्रार शर्मालाई शाखा अधिकृत जोशीले सेवा केन्द्र विस्तार गर्न साथ दिएका छन्। ललितपुर महालक्ष्मीस्थानको गणेशमान सिंह मेमोरियल स्वास्थ्य सहकारी संस्था लिमिटेड सेवा केन्द्र विस्तारमा शर्मा र जोशी नै संलग्न रहेको पाइन्छ। भक्तपुरको सिल्लादेवी कृषि सहकारी संस्था लिमिटेडको सेवा केन्द्र विस्तारमा जोशी र शर्माको मिलेमतो देखिन्छ। किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा तत्कालीन रजिष्ट्रार लिलाप्रसाद शर्मासँग शाखा अधिकृत जोशी जोडिएका छन्।

सर्लाही मलंगवा ठेगाना भएको सहारा मल्टिपर्पास को-अपरेटिभ सोसाइटी लिमिटेडलाई तत्कालीन रजिष्ट्रार झलकराम अधिकारीसहित उपरजिष्ट्रार खिमानन्द आचार्य र शाखा अधिकृत सन्देशप्रसाद जोशीले संलग्न रहेको आयोगको ठहर छ। अधिकारी रजिष्ट्रार भएका बेला सहरा मल्टिपर्पास को-अपरेटिभ सोसाइटी लिमिटेडको सेवा केन्द्र विस्तार गर्न स्वीकृति दिएको देखिन्छ।

यी सहकारीमा भएको बेथितिमा रजिष्ट्रारहरू डा. टोकराज पाण्डे, लिलाप्रसाद शर्मा र झमलकराम अधिकारीसँग शाखा अधिकृत सन्देश प्रसाद जोशीमाथि विस्तृत छानबिन गर्न जाँचबुझ आयोगले सिफारिस गरेको छ। बालेन सरकारले सहकारीमा बेथिति ल्याउने यी कर्मचारीमाथि कडा एक्सन लिने सम्भावना देखिन्छ।

क्याटेगोरी : समाचार
ट्याग : #झलकराम अधिकारी, #डा. टोकराज पाण्डे, #लिलाप्रसाद शर्मा, #सन्देशप्रसाद जोशी शाखा अधिकृत, #सहकारी बेथिति, #सहकारीमा भएको बेथिति जाँचबुझ आयोग

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ