प्रदेश कम बसेका कनिष्ठ सचिवलाई प्रदेश पठाउने तयारी


काठमाडौं। बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले छोटो समय प्रदेश बसेर संघमा फर्किएका कनिष्ठ सचिवहरूलाई प्रदेश पठाउने तयारी गरेको छ। गण्डकी र मधेश प्रदेश प्रमुख सचिवविहीन भएको अवस्थामा सरकारले संघमा रहेका सचिव प्रदेश पठाउने तयारी गरेको हो।

कमलप्रसाद भट्टराईलाई मधेश प्रदेशको कायम प्रमुख सचिवको जिम्मेवारी दिइएको ६ महिना भइसकेको छ। मधेस प्रदेशका तात्कालीन प्रमुख सचिव मदन भुजेलको भूमि व्यवस्था मन्त्रालयमा सरूवा भएपछि भट्टराईलाई मधेश प्रदेशको का.मु. प्रमुख सचिवमा खटाइएको हो। यता गण्डकी प्रदेशका प्रमुख सचिव डण्डुराज घिमिरे पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा कर छुट दिएकोमा विषयमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि निलम्बनमा छन्। गण्डकी प्रदेश पनि एक महिनादेखि प्रमुख सचिवविहीन अवस्थामा छ। यस्तो अवस्थामा संघमा भएका सचिवलाई प्रदेशमा पठाउने गृहकार्यमा सरकार रहेको पाइन्छ।

प्रदेश कम बसेका र संघमा भएका कनिष्ठ सचिवमा शोभाकान्त पौडेल र भूपाल बराल रहेका छन्। पौडेल एक महिना प्रदेशमा बसेर संघमा फर्किएका थिए। अहिले उनी महालेखा नियन्त्रकको भूमिकामा छन्। साढे पाँच महिना बागमती प्रदेश बसेर फर्किएका बराल अर्थ मन्त्रालयको राजस्व सचिवको जिम्मेवारी सम्हालिरहेका छन्। पौडेल

२०८२ जेठ १४ गतेदेखि २०८२ असार १५ गतेसम्म ठ्याक्कै एक महिना सचिव गण्डकी प्रदेशको प्रमुख सचिव भएर संघमा फर्किएका थिए। केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा शक्तिशाली मानिएका सचिव पौडेल एक महिना पनि प्रदेश बस्नु परेन। तत्कालीन मुख्यसचिव एकनारायण अर्याल र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीसँग घनिष्ठ सम्बन्ध रहेका पौडेल छोटो समय प्रदेशबाट संघमा फर्किन सफल भएका थिए। उनी अहिलेसम्म कम समय प्रदेश बस्ने सचिव हुन्।

पौडेलपछि कम समय प्रदेश बस्ने सचिव भूपाल बराल हुन्। बराल २०८२ जेठ १९ गतेदेखि २०८२ कार्तिक २७ गतेसम्म पाँच महिना बढी प्रदेश बसेर राजस्व सचिवको भूमिकामा संघमा फर्किएका थिए। संघमा रहेका र कनिष्ठ सचिवबाट हेर्दा पौडेल र बराल प्रदेश खटाउने मापदण्डमा पर्ने बताइन्छ। पौडेल र बराल एकै विज्ञापनका सहसचिव हुन्।

संघमा रहेका जुनियर सचिवमा मदन भुजेल ८ महिना र चन्द्रकला पौडेल ७ महिना प्रदेश बसेर संघमा फर्किएका हुन्। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिव रहेका मदन र चन्द्रकला शोभाकान्त र भुपालभन्दा पहिला बढुवा भएका सचिव हुन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सचिव चन्द्रकला पौडेल प्रमुख सचिव २०८२ बैशाख १५ गतेदेखि २०८२ मंसिर १५ गतेसम्म ७ महिना कोशी प्रदेशको प्रमुख सचिव भएकी थिइन्। त्यसपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सचिव बनेर संघमा फर्किएकी थिइन्। भूमि व्यवस्था मन्त्रालयका सचिव मदन भुजेल २०८१ फागुन २१ गतेदेखि २०८२ मंसिर १० गतेसम्म ८ महिना मधेश प्रदेश बसेर संघमा फर्किएका हुन्।

सरकारले एक मन्त्रालयमा एक सचिव राख्ने नीति लिएको र जुनियर र कम अवधि प्रदेश बस्ने सचिवलाई संघबाट प्रदेश फर्काउदा शोभाकान्त पौडेल र भूपाल बराल पर्ने देखिन्छ। उनीहरूलाई प्रदेश पठाउँदा औचित्य पुष्टि गर्ने बलियो आधार सरकारसँग रहन्छ।

 

क्याटेगोरी : समाचार
ट्याग : #भूपाल बराल, #शोभाकान्त पौडेल

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ