मुख्यसचिव बन्न यतिसम्म गरेका थिए कृष्णहरि पुष्कर कर्णले


समाचार टिप्पणी

काठमाडौं। नेपाल सरकारका बहालवाला सचिव कृष्णहरि पुष्कर कर्णले मुख्यसचिव वा राजदूतमध्ये एउटा पद खोजेर प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई पठाएको म्यासेजको तरंग अझै कायम छ। ‘मलाई पनि राजदूत बन्न मन छ, प्रधानमन्त्रीको नम्बर छ भने यसो दिनुस् न?’, बालेनले सचिव कर्णको हर्कतपछि व्यंग्य गर्दै लेखेका छन्। बालेनले समाजिक सञ्जाल मार्फत र राज्य संयन्त्र प्रयोग गरेर भनसुनमा कुनै पद पाइँदैन र चल्दैन भनेर स्पष्ट सन्देश समेत दिएका छन्।

नेपालमा लामो समयदेखि भनसुन नातावाद, कृपावाद र अन्य विभिन्न प्रकारले राजदूत र राजनीतिक नियुक्ति दिलाइँदै आइएको थियो। राजनीति दलका नेताको चाकडी गरेकै भरमा अवकाशपछिको नियुक्ति पड्काउँदै आएका थिए। अब भने त्यस्तो नचल्ने भनेर केरकार मार्फत बालेनले स्पष्ट सन्देश दिएका हुन्। आम नेपालीले खोजेको परिवर्तन र बालेन सरकारसँगको अपेक्षा पनि यही हो।

सचिव कर्णले मुख्यसचिव बन्न यसअघि पनि यसरी नै लबिइङ गर्दै आएका थिए। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, मुख्यसचिव एकनारायण अर्याल र बिचौलिया दिपक भट्टको चाकडी गर्दै आएका कर्णले बालेनसँग पनि त्यहिँ शैली अपनाए। तर, पहिला जस्तो अब चल्दैन भनेर कर्णलाई बालेनले सबक सिकाइदिएका छन्। यो सन्देश अन्य कर्मचारीका हकमा पनि लागू हुन्छ।

सचिव कर्णले जेनजी सरकारका पालामा मुख्यसचिव बन्न गरेको हर्कत झन ‘जिब्रो टोक्ने’ खालको छ। देशभित्रको शक्ति प्रयोग गरेर मात्र नहुने भएपछि उनी अन्तर्राष्ट्रिय रूपमै सक्रिय भएको पाइन्छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिव हुँदा मन्त्रालयमा गरेको कामको फेहरिस्त सहसचिवलाई लेख्न लगाएर तथा विभिन्न माध्यममा मुख्यसचिव बनाउने भनेर चर्चासहित लेखिएका लेखलाई अंग्रेजीमा अनुवाद गराएको खुल्न आएको छ। अधिकारिताका लागि कानून किताब व्यवस्थापन समितिलाई नै प्रयोग गरेर अनुवाद गराउन लगाइएको थियो। नेपाली नागरिकलाई बुझ्न नेपाली भाषा नै काफी हुन्छ। ती विषयहरूलाई अंग्रेजीमा अनुवाद गराएर मुख्यसचिव बन्न लबिइङ गर्नुले कसका लागि त्यस्तो अनुवाद गरियो भन्ने कुरा सहजै अनुमान लगाउन सकिन्छ।

जेनजी सरकारमा फेहरिस्त तयार पारेर अंग्रेजीमा अनुवाद गराएर मुख्यसचिव बन्न चर्को लबिइङ गरेका कर्ण घर जाने बेलामा समेत मुख्यसचिव खाने लबिइङमा देखिन्छन्। उनले त्यो हर्कत बालेनलाई पनि देखाएका हुन्। प्रधानमन्त्रीलाई झुक्याएर मेडिकल माफियासँग वैदेशिक रोजगारीमा जाने कामदारको मेडिकल शुल्क वृद्धि गरेपछि सचिव कर्ण उपराष्ट्रपति कार्यालय पुगेका थिए। अहिले बालेनसँग मुख्यसचिव वा राजदूत खोज्दा प्रधानमन्त्री कार्यालयमा तानिएका छन्। जसबाट लाभ लियो उसैलाई ठुग्ने प्रवृत्तिका कर्णले बालेनलाई पदको बार्गेनिङ गर्दा जगेडामा पुगेका हुन्। ‘प्रधानमन्त्री मिलाउछु मुख्यसचिव छाडिदिनुस्’ भन्ने चर्चा चलिरहेका बेला सचिव कर्णले प्रधानमन्त्री बालेनलाई पठाएको म्यासेज सार्वजनिक भएको हो। उक्त म्यासेजले अहिले राष्ट्रिय चर्चा पाइरहेको छ।

मधेशी कोटाबाट उपसचिव र सहसचिव बनेका कर्ण उपसचिव हुँदा दक्षिण कोरियाको श्रम सहचारी भएका थिए। मोहम्मद इस्तियाक राई श्रममन्त्री हुँदा उनी दक्षिण कोरियाको श्रम सहचारी भएर गएका थिए। अफताब आलम दाहिना नहुँदा श्रम सहचारी हुन नपाएका कर्ण इस्तियाक आएपछि कोरिया जान सफल भएका थिए। मधेशी कोटाबाट सहसचिवको लिखितमा श्रीमती आभासहित उनले नाम निकालेका थिए। तर, लोक सेवा आयोगले आभालाई रोकेर उनका  श्रीमानलाई सहसचिवमा सिफारिस गऱ्यो। कर्ण २०६८ फागुनमा सहसचिव भए।

सहसचिव भएपछि वैदेशिक रोजगार विभागको महानिर्देशक, मकवानपुरको सिडिओ जस्ता आकर्षक ठाउँमा जागिर खाएका कर्ण तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्की निकट बन्न पुगे। कार्की निकट भएर शक्तिको अधिकतम दुरूपयोग गरेका कर्ण समानान्तर सत्ता चलाइरहेका उनै कार्कीलाई प्रयोग गरेर भारतको नयाँ दिल्लीस्थित इकोनोमिक मिस्टर बनेर गए। आकर्षक कमाइ हुने इकोनोमिक मिनिस्टर बनेर दिल्ली पुगेका कर्णले श्रीमतीलाई नै उतै लगेर पारिवारिक भत्ता खुवाएको कुरा निकै विवादित बन्यो। आभा अध्ययन विदा लिएर दिल्ली जाँदा तालिम दिने संस्थाले दिने भत्ता, नेपाल सरकारको तलब र पारिवारिक भत्ता लिएको विषय अख्तियारमा समेत पुगेको थियो। सरकारबाट दोहोरो सुविधा लिएको विषयमा बालेन सरकारले पनि छानबिन गर्न सक्ने देखिन्छ।

नेपालका लागि पूर्व भारतीय राजदूत रहेका केभी राजनको नेतृत्वमा रहेको भारतको चेम्बर अफ कमर्स एण्ड इन्ड्रष्ट्रिज (पिएचडी) मार्फत इकोनोमिक मिनिस्टर कर्णले आर्थिक कूटनीतिका नाममा करोडौं खर्च गरेको विषय अहिले पनि परराष्ट्र मन्त्रालयमा चर्चा हुने गरेको छ। त्यस्तै-त्यस्तै विवादमा मुछिएपछि उनलाई सरकारले फिर्ता बोलाएको थियो। उक्त अनियमित खर्चका विषयमा समेत सरकारले कर्णमाथि आवश्यक छानबिन गर्ने सम्भावना छ। मधेश प्रदेशको गृहसचिव भएर गएपछि कानुनविपरीत सुराकी भत्ता खाएको विषयमा समेत उनी विवादमा परे।

चर्चित बिचौलिया दिपक भट्टका विश्वासपात्र रहेका कर्ण सचिव भएपछि प्रदेश जानै परेन। भट्ट कै योजनामा उनी अर्थ मन्त्रालयको राजस्व सचिवमा लगिए। अर्थ मन्त्रालयमा बजेट बनाउने बेलामा मुसाले तार काटेको काण्ड आएपछि अर्थ सचिव मधुकुमार मरासिनीले अर्थ छाडे। त्यसपछि कर्ण अर्थ सचिव बने। उनी अर्थमा त दोहोऱ्याएर सचिव बने। तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी स्वकीय सचिव रहेकी गंगा दाहाललाई प्रयोग गरेर उनी गृह सचिव समेत बन्न खोजे। तर उक्त प्रयास असफल भयो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिव हुँदा सचिव कर्णले सरूवामा ठूलो चलखेल गरे। सचिव कर्णले राष्ट्रिय किताबखानाका महानिर्देशक टोकराज पाण्डेलाई अर्थ पठाउन तीन महिना सरुवा नै ‘होल्ड’ गरिदिए। पाण्डेको १ नम्बर राखेर अर्थ मन्त्रालय सरुवा हुने भएपछि मात्र फाइल अघि बढ्‌यो। अहिले सहकारीमा भएको बेथिति जाँचबुझ आयोगले विस्तृत अनुसन्धान गर्न सिफारिस गरेका पाण्डे त्यो बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कार्यालय प्रमुख भएका थिए। उनी त्यसैबेला अर्थ मन्त्रालयका तर्फबाट प्रतिनिधित्व गरेर नेपाल टेलिकमको बोर्डमा गएका थिए।

सामान्यपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय फर्किएका कर्णले गृह मन्त्रालय ताके गृहमा जाने बेलामा एकनारायण आफै अग्रसर भएपछि श्रम मन्त्रालयतिर पुगे। महोत्तरी कै शरदसिंह भण्डारी श्रममन्त्री भएका कारण उनी श्रम सचिव भएर गएका थिए। वैदेशिक रोजगारीमा जाने कामदारको मेडिकल शुल्क बृद्धिमा मन्त्री भण्डारीसँग कुरा नमिलेपछि सचिव कर्णले गाडी काण्ड ल्याएर उनलाई ‘साइज’मा राख्न खोजे। जेनजी सरकार आएपछि कामदारलाई ३ हजार शुल्क बढी लिने गरि निर्णय गराएरै छाडे। उक्त कुरामा आफूलाई सचिव कर्णले झुक्याएको भनेर प्रधानमन्त्री सुशीला कार्कीले अनलाई श्रम मन्त्रालयबाट उपराष्ट्रपति कार्यालय पुऱ्याइदिएकी थिइन्। ओली सरकारका पालामा मुख्यसचिव हुँदै अख्तियार प्रमुख बन्ने उनको योजना जेनजी सरकार आएपछि फेल खायो।

मेडिकल माफिया कैलाश खड्कासँग मिलेर श्रममा गडबडी गरेर उपराष्ट्रपति कार्यालय पुगेका सचिव कर्ण महोत्तरीको नाता केलाउँदै मुख्यसचिव वा राजदूत चाहियो भन्न भ्याए। एकातिर खड्का जोडिएको छानबिन प्रतिवेदन श्रम मन्त्रालयबाट गायब हुनु र अर्कातिर मुख्यसचिव वा राजदूतको बार्गेनिङ गर्नुले सचिव कर्ण प्रहरीको केरकारमा परे। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जगेडामा तानिएका सचिव कर्णको एक महिना पनि जागिर बाँकी छैन। कुलिङ अफ पिरियड हटाउन लबिइङ गरेका र अहिले राजदूत खोजेका कर्णसँग अलिकति पनि नैतिकता छ भने राजीनामा दिएर बाटो तताउनु नै श्रेयस्कर हुनेछ।

क्याटेगोरी : समाचार
ट्याग : #अंग्रेजीमा अनुवाद, #कृष्णहरि पुष्कर कर्ण, #मुख्यसचिव लबिइङ

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ