अवकाशको मुखमा अख्तियारको हिरासतमा
काठमाडौं। अवकाशको मुखमा रहेका राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र लेखा अधिकृत तुलसीप्रसाद आचार्य अख्तियार दुरूपयोग अनुसन्धान आयोगको हिरासतमा पुगेका छन्। ‘ई-पासपोर्ट’ भ्रष्टाचारमा डामिएर निलम्बनमा परेका सहसचिव अर्याल र लेखा अधिकृत अहिले ५७ वर्ष पूरा भइसकेका छन्। ५८ पूरा भएर घर जाने बेलामा भ्रष्टाचार मुद्दा लागेर उनीहरू अख्तियारको हिरासतमा पुगेका हुन्।
गुल्मीको मालिकामा २०२५ सालमा जन्मिएका तीर्थराज अर्याल हाल काठमाडौंको कपनमा बस्दै आएका छन्। ‘ई-पासपोर्ट’को ठेक्का पार लगाएर महत्त्वपूर्ण देशको राजदूत ताकिरहेका थिए। तर उक्त प्रकरणमा भ्रष्टाचार मुद्दा लागेपछि उनी अख्तियारको हिरासतमा पुगेका हुन्।
विगतमा ‘पासपोर्ट’को ठेक्का लगाएपछि राहदानी विभागका महानिर्देशकहरू महत्त्वपूर्ण देशको राजदूत बन्दै आएका थिए। राहादानी विभागको महानिर्देशक भएर एमआरपीको भेरिएसन सफल ‘सेटिङ’ गरेबापत लोकबहादुर थापा बेल्जियमको राजदूत बनेका थिए। एमआरपीलाई विस्थापित गरेर ‘ई-पासपोर्ट’को ठेक्का सम्पन्न गरेपछि तत्कालीन राहदानी विभागका महानिर्देशक रामकाजी खड्का जर्मनीको राजदूत भएका थिए। ‘ई-पासपोर्ट’को ठेक्का अघि बढाएर राजदूत खाने तयारीमा रहेका हालका महानिर्देशक अर्याल भने अवकाशको मुखमा अख्तियारको हिरासतमा पुगेका हुन्। उनी राजदूत नै नभइ घर जाने खतरा देखिन्छ।
अर्याल कै उमेर हाराहारीका लेखा अधिकृत तुलसीप्रसाद आचार्य पनि ‘ई-पासपोर्ट’ घोटाला प्रकरणमा अख्तियारको हिरासतमा पुगेका छन्। खोटाङ जिल्लाको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा जन्मिएका आचार्य अवकाशको मुखमा अख्तियारको हिरासतमा पुगेका हुन्। हाल कोटेश्वर निवासी लेखा अधिकृत आचार्य ५८ वर्ष पूरा हुन लागेका छन्। छोटो समयमै राहदानी विभाग, भक्तपुर क्यान्सर अस्पताल, सडक सुधार तथा विकास आयोजना निर्देशनालय, काठमाडौं, पानी जहाज कार्यालय हुँदै अख्तियारको हिरासतमा पुगेका हुन्। अवकाशको मुखमा रहेकाले राहदानी विभागबाट विदेशको ‘पोष्टिङ’ नखोजी स्वदेशमै सरूवा मिलाउँदै हिँड्दै गरेका लेखा अधिकृत आचार्य घर जाने बेलामा अख्तियारको हिरासतमा पुगेका छन्। सरकारी सेवाबाट अर्याल र आचार्यको अपमानजनक बहिर्गमन हुने अवस्था आएको हो।
ट्याग : #ई-पासपोर्ट घोटाला, #तीर्थराज अर्याल, #तुलसीप्रसाद आचार्य


तपाईको प्रतिक्रिया दिनुहोस