प्रधानमन्त्री कार्यालयमा दरबन्दीका दुई सचिव रिक्त
काठमाडौं। आइतबारबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेका दरबन्दीको दुई सचिव नै रिक्त भएको छ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको संगठन संरचना अनुसार शासकीय मामिला क्षेत्र र विकास व्यवस्थापन क्षेत्र हेर्ने प्रशासन सेवाको दुई सचिवको दरबन्दी रहेको छ। प्रधानमन्त्री कार्यालय दुबै क्षेत्र हेर्ने सचिव रिक्त भएको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको शासकीय मामिला क्षेत्र सचिव गोविन्दबहादुर कार्की मुख्यसचिवमा बढुवा भएपछि डेढ हप्तादेखि उक्त पद रिक्त छ। प्रधानमन्त्री कार्यालयको विकास व्यवस्थापन हेर्ने सचिव किरणराज शर्मा पनि आइतबारबाट अनिवार्य अवकाशमा गएसँगै उक्त पद रिक्त रहेको हो।
२०७८ साउन ४ गते सचिवमा बढुवा भएका किरणराज ५ वर्षे कार्यकाल पूरा गरेर अनिवार्य अवकाशमा गएका हुन्। आफूभन्दा कनिष्ठ सचिवलाई मुख्यसचिव बनाएको झोकमा कार्यालय आउन छाडेका शर्माको बिदा कै दिन कार्यकाल सकिएको हो। २०५१ सालबाट सरकारी जागिर सुरू गरेका शर्मा ३२ वर्ष सेवा गरेर अनिवार्य अवकाशमा गएका छन्। उनी ५६ वर्ष कै उमेर घर गएका हुन्।
प्रधानमन्त्री कार्यालयमा जगेडाका सचिव पनि रित्तिँदै
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जगेडामा सचिवहरू रित्तिन थालेका छन्। प्रधानमन्त्री कार्यालयको जगेडामा रहेका सचिव कृष्णहरि पुष्कर कर्ण अवकाशमा गएको दुई साता हुन लागेको छ। अर्का सचिव लोकनाथ पौड्याल घर जाने तयारी छन्। सचिव पौडयाल ५८ वर्ष पूरा भएर साउन ६ गते (३ दिनभित्रै) अनिवार्य अवकाशमा जाने सूचीमा छन्। जगेडामा रहेका सचिव हरिप्रसाद मैनाली र गोविन्दप्रसाद शर्माको पनि ‘काउनडाउन’ सुरू भइसकेको छ। मैनाली २ सातामा र शर्मा ३ सातामा घर जाने सूचीमा छन्। दुबै सचिव ५ वर्ष पूरा गरेर अनिवार्य अवकाशमा जान लागेका हुन्। अन्यन्त्र व्यवस्थापन नभए प्रधानमन्त्री कार्यालयको जगेडामा सचिव राधिका अर्याल मात्र बाँकी रहने अवस्था देखिन्छ।
क्याटेगोरी : समाचार
ट्याग : #किरणराज शर्मा, #गोविन्दबहादुर कार्की


तपाईको प्रतिक्रिया दिनुहोस