कर्णालीका प्रमुख सचिव यादवको प्रधानमन्त्री कार्यालयमा सरूवा, कर्णालीमा भट्टराई


काठमाडौं। कर्णाली प्रदेशका प्रमुख सचिव वीरेन्द्रकुमार यादवको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरूवा भएको छ। १७ महिनादेखि कर्णाली प्रदेशको प्रमुख सचिवमा कार्यरत यादवको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरूवा भएको हो।यादव १७ महिना कर्णाली बसेर काठमाडौं फर्कन लागेका हुन्। उनी एक महना बढी कामु प्रमुख सचिव भएर कर्णाली बसेकाले सचिव भएपछि पनि त्यहिँ पदस्थापन भएका थिए। उनले १७ महिना कर्णाली प्रदेशमा बिताएका छन्।

२०६६ असोजमा मधेशी कोटाबाट सहसचिव भएका यादव साढे १५ वर्षपछि सचिवमा बढुवा भएका थिए। सँगैका सहसचिवहरू बैकुण्ठ अर्याल, बुद्धिबहादुर खड्का, यादवप्रसाद कोइराला, रामप्रसाद थपलिया सचिव भएर अवकाश भएपछि यादव बल्ल सचिव भएका थिए। २०३१ असार १५ गते सर्लाहीमा जन्मिएका उनी ५० वर्षमा सचिव भएका यादव ५५ वर्षको उमेरमा सचिवको ५ वर्षे सेवा अवधि पूरा गरेर घर जाने सूचीमा छन्। निजामती सेवामा ३०-५५ को कुरा जोडदार रूपमा उठिरहेको अवस्थामा ५२ वर्षीय सचिव यादवले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘इन्ट्री’ मारेका हुन्।

कर्णाली प्रदेशको कायममुकायम (का.मु.) प्रमुख सचिवमा भने कमलप्रसाद भट्टराईलाई खटाइएको छ। मधेश प्रदेशबाट कामु खुस्किएका भट्टराई कर्णालीको कामु प्रमुख सचिवमा खटाइएका हुन्। वरिष्ठ सहसचिव भट्टराईलाई कामु प्रमुख सचिवमा पठाइएको हो।

संगठन तथा व्यवस्थापन (ओएन्डएम) सर्वेक्षण टुंगिनसकेकाले भदौ अगाडि सचिव बढुवा हुने सम्भावना कम छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भने प्रशासनको सचिव रिक्त भएर कानुनका सचिव पुष्कर सापकोटालाई भ्याइनभ्याइ भएकाले प्रदेशबाट यादवलाई तान्ने निर्णय भएको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जगेडामा रहेको सचिव हरिप्रसाद मैनाली र राधिका अर्यालको कैफियत भेटिएपछि उनीहरूले जिम्मेवारी नपाएको बताइन्छ। मैनाली अर्को साता घर जाने सूचीमा छन्। सरकारले गठन गरेको छानबिन समितिले नेपाल टेलिभिजनको स्याटेलाइट ब्यान्डविथ प्रकरणमा सचिव अर्याललाई समेत कारबाहीको सिफारिस भएपछि जगेडामा तानिएको हो। उक्त प्रकरण अख्तियारमा पुगेकाले तत्काल उनलाई जिम्मेवारी दिने सम्भावना न्यून देखिन्छ।

क्याटेगोरी : समाचार
ट्याग : #कमलप्रसाद भट्टराई, #वीरेन्द्रकुमार यादव

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ