गृहबाट १ सिडिओ, ३ सहायक सिडिओसहित ९ उपसचिव ‘आउट’


काठमाडौं। गृह मन्त्रालयबाट एक प्रमुख जिल्ला अधिकारी (सिडिओ), दुई सहायक प्रमुख जिल्ला अधिकारीसहित नौं उपसचिव बाहिरिएका छन्। यसअघि स्थानीय तहमा खटाउदा पनि नगई गृहमै सेटिङ मिलाएर बस्ने उपसचिवहरूलाई फेरि स्थानीय तहमा खटाइएको छ। गृहमा जेरा गाडेर बसेका उपसचिवहरू स्थानीय तहमा खटाइएका हुन्।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) रवीन्द्रप्रसाद आचार्यलाई सप्तरीको हनुमानगर कङ्कालिनी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरूवा गरिएको छ। मोरङ र काठमाडौंको सहायक सिडिओ तथा मनाङ र ताप्लेजुङको सिडिओ बनेका आचार्य १ वर्ष गृहको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखामा बसेर म्याग्दी पुगेका आचार्य सप्तरीको स्थानीय तहमा पुगेका हुन्। म्याग्दीको सिडिओ भएको ९ महिनापछि स्याङजाली आचार्य सप्तरी पुगेका छन्।

काठमाडौंका सहायक सिडिओद्वय खिमराज भुसाल र तुलसीप्रसाद दाहाल स्थानीय तहमा सरूवा भएका छन्। सहायक सिडिओ भुसालको महोत्तरीको भंगाहा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरूवा भएको छ। सहायक सिडिओ दाहालको रौतहटको इशनाथ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरूवा भएको हो। दाहालको गत २०८२ भदौमा इशनाथ कै प्रमुख प्रशासकीय अधिकृतमा सरूवा भएको थियो। राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका निर्देशक रहेका दाहाल सरूवा बदर गरेर काठमाडौंको सहायक सिडिओ बन्न सफल भएका थिए। उनलाई एक वर्षपछि फेरि सोही नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा पठाइएको हो।

काभ्रेपलाञ्चोक जिल्लाको सहायक सिडिओ लिलाकुमारी केसी पाण्डेलाई रौतहटको वृन्दावन नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरूवा गरिएको छ। पाण्डे केही समय अघि सोलुखुम्बुको सिडिओबाट काभ्रेपलाञ्चोकको सहायक सिडिओमा सरूवा भएर आएकी थिइन्। उनी रौतहटको स्थानीय तहमा पुगेकी हुन्। लिला धनकुटाको समेत सिडिओ समेत भइसकेकी उपसचिव हुन्।

गृह मन्त्रालयकी उपसचिव प्रदर्शनी कुमारीको बाराको पचरौता नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरूवा भएको छ। प्रदर्शनीको एक वर्ष अगाडि पर्साको पोखरीया नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा पठाए पनि गएकी थिइनन्। पर्साको स्थानीय तहमा नगएकी गृहकी उपसचिव प्रदर्शनीको बारामा सरूवा गरिएको हो। प्रदर्शनी ओखलढुङ्गाको सिडिओ समेत भइसकेकी उपसचिव हुन्।

रसुवा र डडेलधुराको सिडिओ भइसकेका चोमेन्द्र न्यौपाने बाजुराको बुढीगंगा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरूवा भएका छन्। कारागार व्यवस्थापन विभागका निर्देशक रहेका चोमेन्द्र बाजुरा पठाइएका हुन्।

गृह मन्त्रालयका उपसचिव ईश्वरीदत्त पनेरूको उदयपुरको त्रियुगा नगरपालिकामा सरूवा गरिएको छ। पनेरु यातायात, अध्यागमन जस्ता आकर्षक ठाउँमा बसिसकेका उपसचिव हुन्। पनेरूलाई उदयपुरको प्रमुख प्रशासकीय अधिकृतमा पठाइएको हो।

राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका निर्देशक सानुबाबु अधिकारीको रौतहटको देवाही गोनाही नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरूवा भएको छ। इलाका प्रशासन कार्यालय कास्की, लेखनाथका प्रमुख गुरूदत्त ढकालको धनुषाको सबैला नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरूवा गरिएको छ। उनीसहित ९ जना उपसचिव गृह मन्त्रालयबाट आउट भएका हुन्।

सामान्यले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका उपसचिवहरू दिपकप्रसाद खतिवडा, लोकबहादुर राना र नमिता रेग्मीलाई स्थानीय तहमा पठाएको छ। लोक सेवा आयोगका उपसचिव दिपक खड्का, नारायणप्रसाद ज्ञवाली र युवराज पोखरेललाई पनि स्थानीय तहमा पठाइएको हो। निर्वाचन आयोगका उपसचिव कमल ज्ञवाली र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव दशरथ राम ओड स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतमा सरूवा भएका हुन्।

 

क्याटेगोरी : समाचार
ट्याग : #ईश्वरी दत्त पनेरू, #खिमराज भुसाल, #गुरुदत्त ढकाल, #चोमेन्द्र न्यौपाने, #तुलसीप्रसाद दाहाल, #प्रदर्शनी कुमारी, #रविन्द्र आचार्य, #लिलाकुमारी केसी पाण्डे, #सानुबाबु अधिकारी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ