बाढी प्रभावित महिला, बालबालिका र जोखिममा रहेकाको उद्धारमा समन्वय गर्न महिला आयोगको पहल


काठमाडौं । राष्ट्रिय महिला आयोगले बाढी तथा विपद्बबाट प्रभावित महिला, बालबालिका, किशोरी, गर्भवती, सुत्केरी, अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकको उद्धार, राहत र संरक्षणका लागि समन्वय र सहकार्यलाई प्रभावकारी बनाउने भएको छ।

रसुवा जिल्लामा गएको हिमपहिरोका कारण उत्पन्न भोटेकोशी बाढीबाट जोखिमपूर्ण अवस्थामा रहेका नागरिकका सवालमा आयोगले विभिन्न सरकारी तथा गैरसरकारी संघ–संस्थासँग छलफल गरेकोछ ।

आयोगको आयोजनामा भाद्र १० गते भएको समन्वयात्मक बैठकमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय, गृह मन्त्रालयलगायत विभिन्न सरकारी निकायका प्रतिनिधि तथा महिला र मानवअधिकारको क्षेत्रमा काम गर्ने संघ–संस्थाका प्रतिनिधिहरू सहभागी थिए।

बैठकमा महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, मानव बेचबिखनविरुद्धको अभियान, मानसिक स्वास्थ्य, उद्धार तथा सहायता लगायतका क्षेत्रमा काम गर्ने दुई दर्जनभन्दा बढी संघ–संस्था तथा संयुक्त राष्ट्रसंघीय एजेन्सीका प्रतिनिधि सहभागी भएको आयोगले जनाएको छ।

छलफलमा विपद् व्यवस्थापनका क्रममा राज्यका तर्फबाट भएका पहल तथा प्रयासको प्रशंसा गर्दै उद्धार, राहत, व्यवस्थापन र पुनर्स्थापनाका कामलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको थियो।

विभिन्न संघ–संस्थाले आफ्नो विषयगत क्षेत्रअनुसार काम गर्दा दोहोरोपना नहुने गरी समन्वय गर्नुपर्ने सुझाव दिएका छन्। साथै, विपद्को समयमा तीन तहका सरकार तथा सरोकारवाला निकायबीच समन्वय, सहजीकरण र अनुगमन गर्न राष्ट्रिय महिला आयोगले भूमिका खेल्नुपर्ने सुझाव पनि बैठकमा दिइएको छ।

बैठकबाट प्राप्त सुझावका आधारमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयलगायत सरोकारवाला निकायसँग समन्वय गरी आवश्यक पहल गर्ने आयोगका अध्यक्ष कमला कुमारी पराजुलीले प्रतिबद्धता व्यक्त गरेकी छन्।

आयोगले बाढीबाट प्रभावित भई जोखिमपूर्ण अवस्थामा रहेका व्यक्तिलाई आवश्यक सहायता तथा समन्वयका लागि निःशुल्क हेल्पलाइन नम्बर ११४५ मा सम्पर्क गर्न आग्रह गरेको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ