झापासहित ४ जिल्लामा सिडिओ रिक्त
काठमाडौं। झापासहित ४ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) रिक्त भएका छन्। सहसचिव सिडिओका लागि आकर्षक मानिने झापासहित, भोजपुर, दोलखा र सुर्खेतमा सिडिओ रिक्त भएका हुन्। यीमध्ये भोजपुरमा उपसचिव तथा झापा, दोलखा र सुर्खेतमा सहसचिव सिडिओको दरबन्दी रहेको छ।
सरूवा अवधि पुगेका झापाका सिडिओ शिवराम गेलालले राजीनामा दिएपछि उक्त जिल्लामा सिडिओ रिक्त भएको छ। सरूवाको चर्चाबीच झापाका सिडिओ राजीनामा दिएका छन्। गेलालको जागिर ५ महिना भन्दा कम रहेको थियो। ५८ वर्षे उमेर हदका कारण माघ १२ गते (५ महिनाभित्र) अनिवार्य अवकाशमा जान लागेका सहसचिव गेलालले राजीनामा दिएका हुन्।
त्यस्तै दोलखाका सिडिओ हरिप्रसाद घिमिरेले राजीनामा दिएपछि उक्त जिल्लामा पनि सिडिओ रिक्त भएको हो। ३ महिना बाटो ओरालो लागेको जागिर सहसचिव घिमिरेले ‘बिट’ मारेका हुन्।
सिडिओ घिमिरेले दोलाखाको कमाण्ड सम्हालेको ठ्याक्कै ८ महिना भएको छ। ३ महिना कम अवधि भएका सिडिओलाई जगेडामा तान्ने सम्भावना बढेपछि ३०-५५ लागू हुने खतराबाट जोगिन घिमिरेले राजीनामा दिएकाे चर्चा चल्न थालेको छ।
भोजपुरका सिडिओ राजन पौडेलको पोखरा महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरूवा भएपछि भोजपुरमा पनि सिडिओ रिक्त भएको हो। सहसचिव पौडेलले भोजपुर छाडेसँगै अब भोजपुरमा उपसचिव सिडिओ खटाउनु पर्ने हुन्छ।
सहसचिव सिडिओको दरबन्दी रहेको सुर्खेतमा पनि सिडिओ रिक्त छ। सुर्खेतका सिडिओ धर्मराज जोशीको सुदूरपश्चिम प्रदेशमा सरूवा भएपछि सुर्खेत सिडिओविहीन भएको हो। डोटीमा पनि सरकारले सहसचिव सिडिओ खटाउन सकेको छैन।
क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस