भोटेकोशी बाढी–पहिरोमा दिवंगत आत्माहरूको चिरशान्तिको कामनासहित दीप प्रज्वलन


काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा भएको विनाशकारी बाढी तथा पहिरोबाट ज्यान गुमाएका व्यक्तिहरूको चिरशान्तिको कामना गर्दै तारकेश्वर नगरपालिका–२, काभ्रेस्थली चोकमा सामूहिक मौनधारण, दीप प्रज्वलन तथा प्रार्थना सभा सम्पन्न भएको छ।

राष्ट्रिय सिर्जनशील सर्कल वडा नं. २ तथा राष्ट्रिय सिर्जनशील समाजको आयोजनामा शनिबार सम्पन्न कार्यक्रममा बाढी तथा पहिरोमा परी दिवंगत भएकाहरूको आत्माको चिरशान्ति, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ता भएकाहरूको सकुशल उद्धार र प्रभावित परिवारलाई आवश्यक राहतको कामना गरिएको थियो।

कार्यक्रममा स्थानीय बुद्धिजीवी, पेशाकर्मी, युवा, पत्रकार, आमाबुवा तथा दाजुभाइ–दिदीबहिनीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले विपद्मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रभावित परिवारप्रति ऐक्यबद्धता र सहानुभूति व्यक्त गरेका थिए।

कार्यक्रममा राष्ट्रिय सिर्जनशील समाजका सचिव, समाजसेवी तथा प्रशिक्षक प्रकाश ढकालले कार्यक्रमको उद्देश्य र औचित्यमाथि प्रकाश पार्दै विपद्को समयमा मानवीय संवेदना, सामाजिक एकता र सहयोगको भावना अझ मजबुत बनाउनुपर्नेमा जोड दिए।

त्यसैगरी, संस्थाका उपाध्यक्ष अनिल भण्डारीले कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिँदै विपद्को यस कठिन घडीमा प्रभावित परिवार तथा समुदायलाई आ–आफ्नो स्थानबाट सक्दो सहयोग गर्न सबैमा अपिल गरे ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ