प्रशासन सेवाको सचिव बन्ने प्रतिस्पर्धामा रहेका सहसचिवहरू


काठमाडौं। सरकारले पछिल्लो समय भटाभट सचिव बढुवा गर्न थालेको छ। लामो समयदेखि जाम भएको सचिव बढुवा खुलाएर कमलप्रसाद भट्टराई, इन्दु घिमिरे र नारायणप्रसाद भट्टलाई सचिवमा बढुवा गरिसकेको छ। भट्टराई बागमती प्रदेशको प्रमुख सचिव, भट्ट, कोशी प्रदेशको प्रमुख सचिव र घिमिरे रक्षा मन्त्रालयको सचिवमा पदस्थापन भइसकेकी छिन्। अबको सिफारिसमा बिनोदबहादुर कुँवर, उत्तरकुमार खत्री र कालीप्रसाद पराजुली पर्नेछन्। उनीहरूमध्ये एकजना भदौंभित्रै सचिवमा बढुवा हुनेछन्।

हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अख्तियार दुरूपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, महालेखा नियन्त्रक कार्यालय र राष्ट्रिय सतर्कता केन्द्रमा प्रशासन सेवाको सचिव पद रिक्त रहेको छ। असोज १८ मा राष्ट्रिय योजना आयोगमा पनि सचिव रिक्त हुनेछ। तत्काल हेर्दा प्रशासन सेवाको ५ सचिव रिक्त रहेको देखिन्छ। तर, सरकारले ऐनमा भएको व्यवस्था नै संशोधन गरेर राष्ट्रिय तथ्याङ्क कार्यालय, महालेखा नियन्त्रक कार्यालय, नेपाल ट्रष्टको कार्यालय जस्ता निकायमा सचिवको दरबन्दी कटौती गर्ने गृहकार्य समेत गरेको छ। भदौ र असोजमा गरी ३ देखि ४ सचिव थपिने सम्भावना देखिन्छ।

सचिव बढुवाका लागि बिनोदबहादुर कुँवर, उत्तरकुमार खत्री, कालीप्रसाद पराजुली, रूद्रसिंह तामाङ, आभा श्रेष्ठ, चक्रबहादुर बुढा र जयनारायण आचार्य प्रतिस्पर्धामा छन्। यिनीहरूमध्ये श्रेष्ठ (महिला) र बुढा ( पिछडिएको क्षेत्र) आरक्षणबाट सहसचिव भएका हुन्। बुढाले कर्णालीबाट पिछडिएको क्षेत्रको लाभ लिएकाले सचिवमा बढुवा भएपछि कम्तिमा पनि १ वर्ष उक्त प्रदेशमा सेवा गर्ने मौका दिए न्यायोचित हुनेछ। आभालाई पनि मधेशमा त्यो अवसर दिँदा उचित हुन्छ।

सचिव बढुवाको मुखमा रहेका कुँवर र पराजुली आन्तरिक प्रतिस्पर्धा र खत्री खुला प्रतिस्पर्धाबाट सहसचिव भएका हुन्। जेन-जी आन्दोलन अघि केपी ओली ओली प्रधानमन्त्री हुँदा निजी सचिव रहेका कुँवरको जागिर १० महिना बाँकी छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ