कांग्रेस छाडेपछि कोशीका ३ वडाध्यक्षको पद चैट
काठमाडौं। पार्टी परित्याग गरेपछि कोशी प्रदेशका ३ वडाध्यक्षको पद गएको छ। नेपाली कांग्रेस छाडेका कारण खोटाङ, भोजपुर र इलामका १/१ गरी ३ वडाध्यक्षको पद चैट भएको हो।
निर्वाचन आयोगका अनुसार भोजपुरको साल्पासिलोछो गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष बिक्रम वन सन्यासी, खोटेहाङ गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष जेफर राई र इलामको माईजोमाइ गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष राम घिमिरेको पद रिक्त भएको हो। नेपाली कांग्रेसले दल त्याग गरेको जानकारी गराएकाले उनीहरूको पद रिक्त भएको निर्वाचन आयोगले सार्वजनिक सूचना निकालेको छ।
साल्पासिलोछो गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष बिक्रम वन सन्यासी र खोटेहाङ गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष जेफर राई नेपाली कांग्रेस परित्याग गरी श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन्। इलामको माईजोमाइ गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष राम घिमिरे नेपाली कांग्रेस छाडेर नेकपा एमालेका छिरेपछि उनको पनि पद गएको छ। पार्टी परिवर्तन गरेपछि ३ वटा वडाध्यक्ष एकसाथ पदमुक्त भएका हुन्।
त्यस्तै भोजपुरको अरुण गाउँपालिकाका कार्पपालिका सदस्य ललितकुमार राई पनि कांग्रेस छाडेपछि पद गुमाउनेमा परेका छन्। भरतपुर महानगरपालिकाका वडा नम्बर ३ का वडा सदस्य माधव अर्याल, सुर्खेतको लेकवंशी गाउँपालिका वडा नम्बर १ का वडा सदस्य हरिप्रसाद रेग्मी र मुस्ताङको घरपझोड गाउँपालिका वडा नम्बर ५ का वडा सदस्य कृष्णप्रसाद थकाली पनि पदमुक्त भएका हुन्। कांग्रेस छाडेपछि उनीहरू पदमुक्त भएका छन्।
क्याटेगोरी : समाचार
ट्याग : #विक्रम वन


तपाईको प्रतिक्रिया दिनुहोस