२ वर्षदेखि विभाग चलाएका महानिर्देशक


काठमाडौं। प्रशासन सेवाका सहसचिवले २ वर्ष एउटै कुर्सीमा बसेर काम गर्ने विरलै घटना देखिन्छ। पछिल्लो समयमा एक वर्ष पूरा भइसकेका सहसचिवहरूको स्थान परिवर्तन हुँदै आएको छ। तर, विभाग कै महानिर्देशक भएका दुई सहसचिव भने २ वर्षदेखि एउटै कुर्सीमा टिकिरहेका छन्। त्यसरी टिक्ने महानिर्देशक हुन् राजिव पोखरेल र मनमाया पंगेनी भट्टराई। पोखरेल यातायात व्यवस्था विभागको महानिर्देशक र पंगेनी हुलाक सेवा विभागको महानिर्देशकको भूमिकामा रहेकी छिन्।

नेकपा एमालेका निकट सहसचिव राजीव पोखरेल दुई वर्षदेखि यातायात व्यवस्था विभागको महानिर्देशकको जिम्मेवारीमा रहेका छन्। ओलीका विश्वासपात्र देवेन्द्र दाहाल भौतिक पूर्वाधार तथा यातायात मन्त्री भएका बेला पोखरेल यातायात व्यवस्था विभागको महानिर्देशकमा भएका थिए।

उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय मधेश प्रदेशको प्रदेश सचिवबाट पोखरेल २०८१ भदौ अन्तिमतिर भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा भएर आएका हुन्। त्यहाँबाट यातायात व्यवस्था विभागको महानिर्देशकको जिम्मेवारी सम्हालेका पोखरेल अहिले पनि उक्त जिम्मेवारीमै रहेका छन्।

मनमाया पंगेनी भट्टराईलाई २०८१ भदौतिरै पृथ्वी सुब्बा गुरुङले हुलाक सेवा विभागको महानिर्देशक बनाएर ल्याएका थिए। जेनजी आन्दोलनले पद गुमाएका गुरूङको विश्वासपात्र पंगेनी अहिले पनि उक्त विभागको कमाण्ड सम्हालिरहेकी छिन्। गुरूङले पंगेनीलाई आफूले महानिर्देशक बनाएको भनेर खुलेआम बताउने गर्थे। गुरूङको राज ढलेपनि पंगेनी हुलाक सेवा विभाग कै महानिर्देशकको भूमिकामा छिन्। उनले हुलाक सेवा विभागको कमाण्ड सम्हालेको दुई वर्ष हुन लागेको हो।

 

क्याटेगोरी : समाचार
ट्याग : #मनमाया पंगेनी भट्टराई, #राजिव पोखरेल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ