गृह मन्त्रालयको जगेडामा ५ सहसचिव, दरबन्दीभन्दा बढी सहसचिव आउट हुने सम्भावना
काठमाडौं। गृह मन्त्रालयको जगेडामा ५ सहसचिव रहेका छन्। सहसचिवहरू तुलसीबहादुर श्रेष्ठ, बलराम निरौला, चिरञ्जीवी पौडेल, पुष्पराज शाही र भूपेन्द्र थापा गृह मन्त्रालयको जगेडामा पुगेका हुन्। गृह मन्त्रालयमा हाल डोटीको सिडिओ र मन्त्रालयको प्रशासन महाशाखा प्रमुख गरी दुई सहसचिव व्यवस्थापन गर्ने ठाउँ देखिन्छ। तर, गृहमा ५ सहसचिव पुगेकाले कम्तिमा पनि ३ जना सहसचिव आउट हुने देखिन्छ।
गृहले नपत्याएर लामो समयदेखि जगेडामा रहेका पुष्पराज शाही र भूपेन्द्र थापा आउट हुने सम्भावना छ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय प्रमुखबाट फाजिलमा परेर गृह मन्त्रालय तानिएका बलराम निरौला पनि उक्त सूचीमा पर्ने जोखिम देखिन्छ।
रौतहटका सिडिओबाट आएका सहसचिव दिनेशसागर भुसाललाई नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा र सुनसरीको सिडिओबाट आएका सहसचिव बासुदेव घिमिरेलाई आन्तरिक व्यवस्थापन महाशाखा प्रमुख बनाइएको छ। गोरखाको सिडिओबाट सरुवा भएर आएका तुलसीबहादुर श्रेष्ठले कुनै जिम्मेवारी पाएका छैनन्। उनको अध्यागमन विभागमा व्यवस्थापन हुने सम्भावना पनि छ।
गृह मन्त्रालयमा सिडिओ चलाउने सहसचिव पठाइने सम्भावना
गृह मन्त्रालयबाट ठूलो संख्यामा सहसचिवहरू बाहिरिने र भित्रिने सम्भावना पनि उत्तिकै देखिन्छ। प्रदेश नगएका सहसचिवलाई प्रदेश पठाएर सिडिओ चलाउन सक्ने सहसचिव गृहमा पठाइने सम्भावना छ। विवादित पृष्ठभूमिका सहसचिव गृहबाट आउट हुन सक्छन्। गृहमा जगेडामा रहेका सहसचिवको चाँडै व्यवस्थापन हुने सम्भावना बढेको हो।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस