झापा प्रशासनद्वारा शून्य बाँकी आवेदन अभियान सुरु


झापा। सेवाको अत्यधिक चाप र जनशक्ति अभावबीचको असन्तुलनका कारण लामो समयदेखि सेवाको पर्खाइमा (Time-based Service Queue) रहेका ठूलो संख्याका सेवाग्राहीलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालय, झापाले बिहान ७ बजेदेखि बेलुकी ६ बजेसम्म निरन्तर सेवा प्रवाह हुने समयतालिकासहित सार्वजनिक बिदाका दिनहरूमा समेत सेवा प्रवाह हुने व्यवस्था मिलाएको छ।

अनलाइन फाराम भरी बायोमेट्रिक विवरण बुझाउन लामो समयदेखि प्रतीक्षा सूचीमा रहेका सेवाग्राहीहरूको आवेदनलाई शून्यमा ल्याउने रणनीतिअनुरूप सञ्चालन गरिने यस शून्य बाँकी आवेदन (Zeroing the Backlog) अभियानमा खटिने कर्मचारीहरूका लागि अतिरिक्त प्रोत्साहनको व्यवस्था मिलाइएको छ।

जिल्ला प्रशासन कार्यालय, झापाबाट सेवा प्राप्त गर्न समय बुक गरी प्रतीक्षामा रहेका आवेदकहरूको पछिल्लो तथ्याङ्क हेर्दा राहदानी सेवातर्फ ९९६ जना र राष्ट्रिय परिचयपत्रतर्फ ४,२९१ जना पालो कुरिरहेका छन्। बायोमेट्रिक विवरण (फिङ्गरप्रिन्ट, आइरिस स्क्यान र डिजिटल फोटो) बुझाउनका लागि मात्र पनि अनलाइन फारम भरेको मितिदेखि ३५ दिनसम्म लामो प्रतीक्षा सूचीमा रहनुपर्ने अवस्था छ।

अनलाइन फाराम भर्ने र बायोमेट्रिक विवरण लिने/दिने सेवा एकै दिनमा सम्पन्न हुने सेवाग्राहीमैत्री वातावरण सुनिश्चित नभएसम्म अभियान जारी रहने प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जनाए। यसका लागि आवश्यक अतिरिक्त स्रोतसाधन स्थानीय सरकारहरूबाट उपलब्ध हुने आश्वासन प्राप्त भएको प्रजिअ पोखरेलले बताए।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ