सरोजकुमार पोख्रेल: सरुवा भएको ८ महिनापछि पुर्चौडीमा हाजिर, ४ महिनापछि फेरि सिंहदरबार


काठमाडौं। बैतडीको पुर्चौडी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत सरोजकुमार पोख्रेल ८ महिनामै सिंहदरबार आउन सफल भएका छन्। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिव पोखरेललाई रक्षा मन्त्रालयमा सरूवा गरेको हो। उनी पुर्चौडीमा हाजिर भएको साढे ४ महिना पनि नभइ सिंहदरबार आउन सफल भएका हुन्।

२०८२ भदौं १३ गते बैतडीको पुर्चौडी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरूवा भएका पोख्रेल २०८३ बैशाख १६ गते मात्र हाजिर भएका थिए। सरूवा भएको ८ महिनापछि पुर्चौडीमा हाजिर भएका पोखरेल साढे ४ महिना पनि नबसी रक्षा मन्त्रालयमा सरूवा हुन सफल भएका छन्।

उद्योग विभागको डिजी राजेश्वर ज्ञवाली हुँदा पोख्रेल विभागका हर्ताकर्ता उपसचिवको भूमिकामा रहेका थिए। उद्योग विभागको भन्सार मानिने शाखामा लामो समयदेखि रजगज गरेका पोख्रेललाई पुचौंडी नगरपालिका बैतडीमा प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाइएको थियो। नेकपा एमाले निकट कर्मचारी पोख्रेल तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुख पार्वती शर्माको सेटिङमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीअनिलकुमार सिन्हाको निजी सचिव बनेर बसेका थिए। बैतडीको पुर्चौडी नगरपालिकामा सरूवा भए पनि त्यता नगई सेटिङमा मन्त्रीको निजी सचिव बनेर बसेका थिए। बालेन सरकार आएपछि मात्र हाजिर हुन गएका पोख्रेल ४ महिनामै सिंहदरबार फर्किन सफल भएका हुन्।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले विभागीय कारबाही गर्ने चेतावनी दिएपछि शक्तिशाली उपसचिव पोखरेल पुर्चौडीको प्रमुख प्रशासकीय अधिकृतमा हाजिर भएका थिए। पटकपटकको चेतावनीपछि पुर्चौडी गएका ‘सेटिङ-मास्टर’ पोखरेल छोटो समयमै रक्षा मन्त्रालय सरूवा मिलाउन सफल भएका छन्। उनका शक्तिका कारण ४ महिनामै सरकारले उनलाई सिंहदरबार फिर्ता ल्याएको हो। ९ उपसचिव सरूवा हुँदा सिंहदरबार छिर्ने एक मात्र उपसचिवमा पोख्रेल देखिन्छन्।

क्याटेगोरी : समाचार
ट्याग : #सरोज कुमार पोख्रेल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ