इन्जिनियरिङ क्लष्टरको सचिव असोज तेस्रो साता बढुवा हुने


काठमाडौं। इन्जिनियरिङ क्लष्टरको सचिव असोज तेस्रो साता बढुवा हुने देखिन्छ। हाल इन्जिनियरिङ क्लष्टरको सचिव पद रिक्त देखिँदैन। इन्जिनियरिङ क्लष्टरको सचिव बढुवाका लागि पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल र जल तथा ऊर्जा आयोगका सचिव सरजुकुमार वैद्य अवकाशमा जानु पर्ने हुन्छ। उनीहरू दुबैजना असोज तेस्रो साताबाट घर जाँदैछन्। सिग्देल र वैद्य अवकाशमा गएपछि मात्र इन्जिनियरिङ क्लष्टरको सचिव बढुवा हुने ढोका खुल्ने देखिन्छ।

नेपाल ट्रष्टमा रहेको सचिव पद पनि ऐन संसोधन मार्फत कटौती गर्ने तयारी भइरहेको छ। त्यस्तै नयाँ स्थापना भएको सूचना, प्रविधि तथा विद्युतीय शासन कार्यालयको पनि क्लष्टर स्पष्ट भइसकेको छैन।

अहिलेको अवस्थामा सूचना प्रविधिलाई नेपाल विविध सेवामा राखिएको छ। विविध सेवाका सहसचिवहरू प्रशासन सेवामा बढुवा हुने गरेका छन्। शिक्षा प्रशासन, सूचना प्रविधि जस्ता नेपाल विविध सेवामा भएका सहसचिवको बढुवा हुँदा नेपाल प्रशासन सेवाका सचिव खटाउने ठाउँमा नै खटाउने गरिन्छ। त्यसैले तत्काल उक्त कार्यालयया इन्जिनियरिङ क्लष्टरको सचिव बढुवा हुने सम्भावना देखिँदैन।

नयाँ कानुनपछि मात्र सूचना प्रविधि कार्यालयका लागि सचिव बढुवा!

प्रस्ताविक संघीय निजामती सेवा ऐनमा नेपाल विविध सेवाको पदमा बहाल रहेका सूचना प्रविधिसँग सम्बन्धित निजामती कर्मचारी नेपाल सूचना प्रविधि सेवामा समूहकीकृत हुनेछन्। भनिएको छ। उक्त सेवालाई इन्जिनियरिङ क्लष्टरमा राखिएको छ। यसरी हेर्दा अहिले प्रशासन सेवाको सचिव बन्ने उक्त सेवाका कर्मचारी प्रस्ताविक संघीय निजामती सेवा ऐन लागू भएपछि इन्जिनियरिङ क्लष्टरमा पुग्नेछन्। त्यसैले अहिले तत्काल इन्जिनियरिङ क्लष्टरका सचिव बढुवा नहने र प्रशासन सेवाको सचिव बढुवा गर्दा कानुन आउनेबित्तिकै फाजिलमा पर्ने देखिन्छ। यस्तो अवस्थामा कानुन नआञ्जेल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रशासकीक मामिला क्षेत्र हेर्ने सचिवलाई नै सूचना, प्रविधि तथा विद्युतीय शासन कार्यालय समेत हेर्ने गरी थप जिम्मेवारी दिँदा उपयुक्त हुन्छ।

तथ्याङ्क र ट्रष्टमा सचिव हटाउन ऐन संशोधन गर्नुपर्ने

राष्ट्रिय तथ्याङ्क कार्यालय र नेपाल ट्रष्टको सचिव हटाउन ऐन नै संशोधन गर्नुपर्ने देखिन्छ। सरकारले दुई निकायको सचिव हटाउने गृहकार्य गरिरहेको छ। यी निकायमा सचिव त्यो पनि अमिल्दो सेवाको राख्नुको कुनै औचित्य देखिँदैन। तथ्याङ्क ऐनमा विशिष्ट श्रेणीको प्रमुख तथ्याङ्क अधिकृत भनेर नेपाल प्रशासन सेवाको सचिव खटाइएको छ। वीरेन्द्र राज परिवारको स्वामित्वमा रहेको जग्गा जमिन खोज्ने र व्यवस्थापन गर्ने ठाउँ नेपाल ट्रष्टमा इन्जिनियर सचिवलाई जिम्मेवारी दिइएको हो। यसले गर्दा ति निकायमा खटाइएका सचिव ‘कवाफमा हड्डी’ भनेजस्तो भएको छ।

सरकारले राष्ट्रिय तथ्याङ्क कार्यालय र नेपाल ट्रष्टमा सचिव पद कटौती गर्ने तयारी गरेपनि ऐन संशोधन नहुँदा कार्यान्वयनमा आइसकेकोछैन।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ