न्याय सेवामा एकसाथ ३ सचिव थपिए: कट्टेल, भट्टराई र दाहाल सचिवमा बढुवा


काठमाडौं। न्याय सेवामा एकसाथ ३ सचिव थपिएका छन्। नेपाल न्याय सेवा, न्याय समूहको विशिष्ट श्रेणी (सचिव) पदमा ठगिन्द्र कट्टेल, रामप्रसाद भट्टराई र बाबुराम दाहाललाई बढुवा गरिएको छ। कट्टेल र दाहाललाई सर्वोच्च अदालतको रजिष्ट्रारमा पदस्थापन गर्न सिफारिस गरिएको हो। त्यस्तै भट्टराईलाई न्याय परिषद्को सचिवालयमा पदस्थापन गर्न सिफारिस गरिएको छ।

मंगलबार बसेको न्याय सेवा आयोगको बैठकले कट्टेल, भट्टराई र दाहाललाई सचिवमा बढुवा गरी पदस्थापन गर्न सिफारिस गरेको हो। कट्टेल र दाहाल सर्वोच्च अदालतको सहरजिष्ट्रार र भट्टराई न्याय परिषद्को सचिवालयमा कायममुकायम सचिवको भूमिकामा थिए। एउटै ‘ब्याच’का सहसचिव कट्टेल, भट्टराई र दाहाल एकसाथ सचिवमा बढुवा भएका हुन्।

सचिवमा बढुवा अघि, पोखरेल र सिंहको व्यवस्थापन

न्याय परिषद्को सचिवालय र सर्वोच्च अदालतको एक रजिष्ट्रार गरी दुई सचिव रिक्त रहेको थियो। सर्वोच्च अदालतका रजिष्ट्रार मानबहादुर कार्की प्रमुख निर्वाचन आयुक्त भएपछि उक्त पद रिक्त भएको हो। त्यस्तै न्याय परिषद्को सचिव जीतेन्द्रबाबु थपलिया उच्च अदालतको न्यायाधीशमा नियुक्त भएपछि उक्त पद रिक्त रहेको थियो। उक्त पदमा गजेन्द्रबहादुर सिंह र ठगिन्द्र कट्टेल वरिष्ठता हिसाबले सचिव बढुवाका प्रबल दाबेदार रहेका थिए। तर सिंह र सर्वोच्च अदालतका वरिष्ठ रजिष्ट्रार भद्रकाली पोखरेललाई उच्च अदालतको न्यायाधीश बनाएर कट्टेल, भट्टराई र दाहाललाई एकसाथ सचिवमा बढुवा गरिएको हो।

२०७४ जेठ १९ गते एकैदिन सिंह, कट्टेल, भट्टराई र दाहाल न्याय समूहको सहसचिव बनेका थिए। एकैदिन सहसचिव भएका एक नम्बरका सिंह उच्चको न्यायाधीश, दुई नम्बरका कट्टेल, ३ नम्बरका भट्टराई र ४ नम्बरका दाहाल सचिवमा बढुवा भएका हुन्। २०७४ जेठ १९ का ‘ब्याची’ एकैपटक पदोन्नतिमा परेका छन्।


सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेल न्यायाधीशमा  नियुक्त भएर उच्च अदालत सुर्खेतमा पदस्थापन भएका छन्। त्यस्तै फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक सिंहलाई  न्यायाधीशमा नियुक्त गरेर उच्च अदालत विराटनगरमा पदस्थापन गरिएको छ। उच्चको न्यायाधीशमा जिल्ला न्यायाधीश हिमालाल बेल्बासे पनि नियुक्त भएका छन्। बेल्बासेलाई उच्च अदालत जनकपुरमा पदस्थापन गरिएको हो।

क्याटेगोरी : समाचार
ट्याग : #ठगिन्द्र कट्टेल, #बाबुराम दाहाल, #रामप्रसाद भट्टराई

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ