अख्तियार सरूवा भएका अधिकारी सामान्यको अतिरिक्तमा तानिए, गृहबाट ३ सहसचिव पुगे अतिरिक्तमा 


काठमाडौं। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालबाट अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा सरूवा भएका सहसचिव गोविन्दप्रसाद अधिकारी सामान्यमा फिर्ता भएका छन्। भ्रष्टाचार मुद्दा खेपेका अधिकारीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा सरूवा भएपछि विवादमा परेका थिए। फेरि सरकारले सहसचिव अधिकारीलाई अख्तियार तानेर भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जगेडामा पुऱ्याएको छ।

अधिकारी २०८२ पुसमा सामान्य प्रशाप्रशासक मन्त्रालयको अतिरिक्तबाटै वीर अस्पताल पुगेका थिए। वीरमा सहसचिवको दरबन्दी कटौती भएपछि उनलाई अख्तियार पठाइएको थियो। तर, विवादित पृष्ठभूमिका कारण उनी फेरि पुरानै अवस्थामा फर्किएका हुन्। सहसचिव अधिकारीको करिब डेढ वर्ष जागिर बाँकी छ।

गृह मन्त्रालयको जगेडाबाट सामान्यको जगेडामा ३ सहसचिव पुगेका छन्। सहसचिवहरू पुष्पराज शाही, भूपेन्द्र थापा र चिरञ्जीवी पौडेल सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा भएका हुन्।

जेठमै गृह मन्त्रालय पुगेका शाही र थापा जिम्मेवारीविहीन अवस्थामा रहेका थिए। झन्डै साढे ३ महिना गृहको अतिरिक्तमा बसेर शाही र थापा सामान्यको अतिरिक्तमा पुगेका छन्। उक्त घानमा पौडेल पनि परेका हुन्।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय प्रमुखबाट सरूवा भएर सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग पुगेका शाही विवादित सहसचिव हुन्। उनले अध्यागमन प्रमुखबाट सरूवा भएर जाने बेलामा सहयोग नगर्ने कर्मचारीलाई सम्पत्तिको ‘फारम’ भराएर अनुचित कार्य गरेको आरोप लाग्दै आएको छ। त्यसपछि उनी गृह कै ‘अघोषित कालोसूची’मा परेका सहसचिव हुन्। एक व्यवसायीसँगको अडिओ काण्डले उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको डिजीबाट तानिएको थियो। उनै शाही फेरि सिडिओ खान गृहमा पुगेपछि ‘रिजेक्ट’मा परेका छन्। अडिओ काण्डका कारण बालबाल जोगिएका शाही फेरि शक्तिमा आउन जोडबल गरिरहेका थिए। यसैबीच उनी सामान्यको बरण्डामा पुगेका हुन्।

क्याटेगोरी : समाचार
ट्याग : #गोविन्दप्रसाद अधिकारी, #चिरञ्जीवी पौडेल, #पुष्पराज शाही, #भूपेन्द्र थापा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ