शोभाकान्त पौडेलले १० वर्ष अगाडि लगेको भन्सार विभागको गाडी अझै गरेनन् फिर्ता
काठमाडौं। मधेश प्रदेशका प्रमुख सचिव शोभाकान्त पौडेलले १० वर्ष अगाडि लगेको भन्सार विभागको गाडी अझै फिर्ता नगरेको पाइएको हो। भन्सार विभागले पौडेललाई उक्त गाडी फिर्ता गर्न पटकपटक आग्रह गर्दा पनि नटेरेको विभाग स्रोतले बतायो। भन्सार विभागका महानिर्देशक यमलाल भुसालले पौडेलले विभागको गाडी फिर्ता नगरेको पुष्टि गरे। उक्त गाडीको विषयमा प्रधानमन्त्री कार्यालयले हेर्ने महानिर्देशक भुसालको भनाइ छ।
शोभाकान्तले भन्सार विभागको उपमहानिर्देशक हुँदा नै उक्त गाडी लगेको स्रोतले बतायो। उनी विभागको महानिर्देशक समेत भए। उनलाई प्रदेश सरकारले छुट्टै गाडी उपलब्ध गराएको छ। शोभाकान्तले भन्सारबाट लिएर हिँडेको उक्त क्रेटा गाडीमा रातो प्लेटमा बागमती प्रदेश-०१-०३३ च ४२२४ नम्बर राखेर दुरूपयोग गरिरहेको फेला परेको हो।
महालेखा नियन्त्रक हुँदा शोभाकान्तले ३ वटा गाडी प्रयोग गर्दै आएका थिए। उनले भन्सार विभागको डिजी हुँदा लिएर हिँडेको क्रेटा गाडीसहित महालेखा नियन्त्रकको गाडी र महालेखा नियन्त्रक कार्यालय कै नाममा रहेको सेतो स्कर्पियो प्रयोग गर्दै आएका थिए। शोभाकान्तले महालेखा नियन्त्रक कार्यालयको नाममा रहेको दुबै गाडीलाई रातो नम्बर प्लेट राखेर फेरिफेरि चढ्दै आएका थिए। घरायसी प्रयोजनका लागि प्रयोग गर्ने गरेको भन्सारको क्रेटा पनि उनले लिएर हिँड्ने गरेका थिए। अन्य कर्मचारीको गाडी सरकारले खोसिरहँदा शोभाकान्त भने निर्धक्कसँग ३ वटा गाडी प्रयोग गर्दै आएका थिए। विभागले ताकेता गर्दा पनि उनले गाडी फिर्ता नगरेको पाइएको हो। कानुन बमोजिमको सुविधा लिइरहेका शोभाकान्तले कानुनविपरीत भन्सारको गाडीमा समेत कब्जा जमाइरहेको पाइन्छ।
साउन १ गते महालेखा नियन्त्रकबाट बिदाइ हुँदा शोभाकान्तले सरकारले भदौंमा मधेशबाट काठमाडौंमा नल्याए राजीनामा दिने उद्घोष गरेका थिए। न उनी काठमाडौं आए न त राजीनामा नै दिएका छन्। उल्टै भन्सार विभागको गाडी दुरूपयोग गरेर हिँडिरहेका छन्। उनले गाडी फिर्ता गर्न आनाकानी गरेपछि भन्सारका उच्च अधिकारीहरू समेत आजित भएकाे हुन्। शोभाकान्तका अगाडि भन्सारका डिजी भुसाल निरीह देखिन्छन्।
क्याटेगोरी : समाचारट्याग : #शोभाकान्त पौडेल


तपाईको प्रतिक्रिया दिनुहोस