दैनिक ५ हजार अक्सिजन सिलिण्डर अपुग


 

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मर्नेको संख्या ह्वात्तै बढेको छ । अघिल्लो दिनको तुलनामा झण्डै दोब्बरले बढेको छ । सोमबार एकै दिन १३९ जनाको मृत्यु भएको तथ्यांक सरकारले सार्वजनिक गरेको थियो । तर, त्यसलाई उछिन्दै मंगलबार हाल सम्मकै सर्वाधिक २२५ जनाको मृत्यु भएको छ ।

अक्सिजनको चरम अभावका कारण ठुलो संख्यामा नागरिक मर्न थालेका छन् । कोरोना संक्रमितलाई अत्याधिक अक्सिजन आवश्यक पर्ने भएकाले अस्पताल र मन्त्रालयले कति अक्सिजन आवश्यक पर्छ भनेर एकिन गर्न समेत सकेको छैन । अस्पतालहरुले बताए अनुसार बिरामीको अवस्था हेरेर अक्सिजन खपत बारे बोल्न सकिन्छ । तर, यहाँ प्रति मिने ४ देखि २० लिटर सम्म अक्सिजन खाने बिरामीहरु आइरहेका छन् ।

देशभरका अक्सिजन उद्योगले आफ्नो दैनिक उत्पादन क्षमता बन्दा बढी सिलिण्डर भरेपनि पुर्याउन सकेका छैनन् । अस्पतालहरुले अक्सिजन अभाव हुदा बिरामी भर्ना लिन छाडेका छन् । अक्सिजन आवश्यक पर्ने बिरामीलाई सरकारको अनुमती लिएर रिफर गरेका छन् । उपत्यकाका मात्रै आधा दर्जन अस्पतालले अक्सिजन नभएको जानकारी गराइसकेका छन् ।

स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले नेपालका उद्योग सँग दैनिक १० हजार सिलिण्डर भर्ने क्षमता रहेको छ । तर, अस्पतालहरुमा आजका दिनमा दैनिक १५ हजार सिलिण्डरको माग छ । दैनिक ५ हजार अक्सिजन सिलिण्डर अभाव हुदा मृत्युदर बढ्दै गएको अधिकारीहरु बताउँछन् । रातदिन प्रयास गर्दा पनि अक्सिजन आयात गर्न समस्या भएको सचिव अर्यालले बताए । सिलिण्डरको क्षमता बढाउन नसकेका कारण मन्त्रालय लिक्विड अक्सिजन प्लान्ट निमार्ण गर्न लागि परेको छ ।

अहिले आइसियु र भेन्टिलेटर भन्दा पनि अक्सिजनको आवश्यकता देखिएको छ । पर्याप्त अक्सिजन उपलब्ध भए धेरै नागरिकको ज्यान बच्ने चिकित्सक बताउँछन् ।

स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले अक्सिजनको माग अत्याधिक भएको बताए । ‘देशभर अक्सिजनको माग छ मन्त्री त्रिपाठीले भने, ‘हामीले अस्पतालहरुको माग पुरा गर्न सकेका छैनौं । लिक्विड अक्सिजन प्लान्ट हालै संचालनमा आएकाले हामी त्यसमा लागेका छौं । अक्सिजन पुर्याउन नसकेको प्रति अत्यन्तै दुखी छौं ।’

मन्त्री त्रिपाठीले कोरोना नियन्त्रणमा नयाँ कदम उठाउनु पर्ने बताए । उनले भने, ‘हामीले नयाँ कदम उठाउनुपर्ने आवश्यकता ठानेका छौं । चाहे त्यो हेल्थ इमरजेन्सी होस् वा कडाइका साथ लकडाउनमै जानुपर्ने अवस्था होस्, त्यो सरकारले सामूहिक रूपले सोचेर निर्णय लिने छ ।’

अहिले भारतसँगै नेपालमा पनि कोरोना महामारी निरन्तर उकालो लागिरहेको छ । हामीले अक्सिजनका लागि भारतको भर पर्नुपर्छ, त्यहाँ पनि कोरोनाले ठुलो क्षति पु¥याएकाले चाहेर पनि ल्याउन सकिएको छैन मन्त्री त्रिपाठीले भने ।

सरकारले चीनबाट २० हजार सिलिण्डर ल्याउने भएको छ । पहिलो चरण स्वरुप ४ सय सिलिण्डर मंगलबार आइपुगेका छन् । तर, देशमा भएका सिलिण्डर समेत भर्ने क्षमता नभएका बेला थप सिलिण्डर कसरी भर्ने भन्नेमा आशंका उब्जिएको छ ।

५ हजार २ सय २५ जना निको भए

विगत २४ घण्टामा ९ हजार ४ सय ८३ जना नयाँ संक्रमित थपिदा ५ हजार २ सय २५ जना निको भएर घर फर्केका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार विगत २४ घण्टामा २१ हजार ३ सय १६ नमुना परिक्षण गरिएको छ ।

मन्त्रालयका सह प्रवक्ता डा समिर अधिकारीका अनुसार ९७ हजार ८ जना एक्टिभ संक्रमित छन् । उनिहरु मध्ये ७ हजार ९४ जना मात्रै अस्पतालमा भर्ना भएका छन् । अस्पताल भर्ना भएका सबै अक्सिजन चाहिने बिरामी हुन् ।
आइसियुमा रहेको संख्या पनि बिस्तारै बढीरहेको छ । मंगलबार देशभर १ हजार ८४ जना आइसियुमा छन् भने २ सय ९० जना भेन्टिलेटरमा रहेका छन् ।

 

क्याटेगोरी : समाचार
ट्याग : ##oxygen

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com