टोमोथेरापीको ४७ करोड लगानी, बालुवामा पानी : अमेरिका देखि नेपाल आयो तर, वीर अस्पताल पुगेन


काठमाडौं । गरिब र विपन्न नागरिकको क्यान्सर उपचारलाई लक्षित गरी चार वर्ष अगाडी वीर अस्पतालले खरिद गरेको ‘टोमोथेरापी’ मेसिन प्रयोगमा नआउँदै खेर गएको छ । क्यान्सर रोगीको उपचार र निदानका लागि वीर अस्पतालले टोमोथेरापीमा गरेको ४७ करोड लगानी यतिबेला बालुवामा पानी भएको छ । टोमोथेरापी मेसिन अमेरिका देखि नेपाल आयो तर, वीर अस्पताल पुग्न पाएन ।

४७ करोडको मेसिनले कस्तो सेवा दिन्छ बिरामीले अनुभुती गर्न नपाउँदै बिग्रियो । सो मेसिन करिब चार वर्ष देखि शसस्त्र प्रहरी अस्पतालको आगनमा थन्किएको छ । वीर अस्पतालका अधिकारीहरुले बताए अनुसार घाम र पानीले गर्दा बंकर दुलो परेर मेसिनमा खियाँ लागेको छ ।

सस्तोमा उपचार पाइएला भनी बसेका गरिबका लागि ‘टोमोथेरापी’ आकाशको फल भएको छ । अत्याधुनिक उपकरणबाट गरिब बिरामीलाई गुणस्तरीय सेवा दिने नाममा २०७४ सालमा ४७ करोडमा खरिद गरिएको थियो । वीर अस्पतालका अधिकारीहरु हरेक वर्ष करोडौंका उपकरण खरिद गर्न अग्रसर हुन्छन् तर, खरिद गरेका महंगा उपकरण संचालनमा ल्याउदैनन्् ।

वीरमा २३ वर्ष पहिले सञ्चालनमा ल्याइएको ‘कोबाल्ट–६०’ मेसिन २०७२ सालमा विग्रिए पछि क्यान्सरको सेवा पूर्णरुपमा अवरुद्ध छ । यसले गर्दा क्यान्सरका बिरामी उपचार गर्ने चिकित्सकहरुलाई निजी अस्पताल जानेबाटो खुलेको छ । अस्पतालमा दुई निर्देशक परिवर्तन भए तर, ‘टोमोथेरापी’मा कुनै परिवर्तन आउन सकेन ।

बलम्बुको खुला चौरमा २ वटा कन्टेनरमा उपकरण राखिएको छ । वीर अस्पतालले टोमोथेरापी मेसिन २०७४ सालमा लाइफलाइन ट्रेड इन्टरनेशनल प्रालिसँग किनेको थियो । कम्पनीले एकुरे मेडिकल अमेरिकाबाट उत्पादन भएको सो मेसिन नेपाली ४० करोड ३३ लाख ३८ हजार ४ सय रुपैयाँमा भ्याट बाहेक खरिद संझौता गरेको हो । त्यस्तै कम्पनीले सार्वजनिक निर्माणका लागि भन्दै थप ६ करोड ६६ लाख ६६ हजार ४ सय ३० रुपैयाँ गरी ४७ करोड दिएको महालेखाको प्रतिवेदनले समेत उल्लेख गरेको छ ।
सरकारी तथ्यांक अनुसार नेपालमा बर्सेनि २६ देखि ३० हजार नयाँ क्यान्सर रोगका बिरामी थपिने गर्छन् । नेपालमा बर्सेनि सरदर २६ देखि ३० हजार मानिस क्यान्सरपीडित हुने र १५ देखि २० हजारको बर्सेनि मृत्यु हुने गरेको देखिन्छ ।

चिकित्सकका अनुसार क्यान्सर संसारकै मृत्युकोे दोस्रो ठूलो कारण हो । फोक्सोको क्यान्सर, प्रोस्टेट क्यान्सर, आन्द्राको क्यान्सर, पेटको क्यान्सर, कलेजोेको क्यान्सर पुरुषमा धेरै देखिएको छ भने महिलामा स्तन क्यान्सर, आन्द्राको क्यान्सर, फोक्सो, पाठेघरको मुखको क्यान्सर र थाइराइडको क्यान्सर प्रमुख रूपमा देखिएको छ ।

वीर अस्पतालका अनुसार प्रत्येक वर्ष ३ हजार बढी क्यान्सरका बिरामीलाई रेडियोथेरापी दिनुपर्ने हुन्छ । अस्पतालको रेकर्ड अनुसार कम्तिमा पनि प्रति वर्ष ३ हजारको संख्यामा क्यान्सरका बिरामी भर्ना हुन्छन् । उपचार गर्न आउने सबै जसो गरिब तथा विपन्न नागरिक हुने गरेको अस्पतालले जनाएको छ । हाल सेवा प्रभावित हुदा कयौं रेडियोथेरापी गर्ने बिरामीको सेवा नपाएर मृत्यु भएको समेत चिकित्सक बताउँछन् ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com