निजी स्वास्थ्य संस्थाबाट अलग हुने स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको घोषणा


काठमाडौं, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आफू संलग्न निजी स्वास्थ्य संस्थाबाट अलग हुने घोषणा गरेका छन् ।

 निजी संघसंस्थामा रहेको आफ्नो आबद्धता तत्काल् परित्याग गर्ने उनको घोषणा छ । गैर नाफामुलक र सामुदायिक स्वास्थ्य संस्था स्थापनाका लागि आफू सक्रिय रहेको श्रेष्ठको भनाई छ । सञ्चारमाध्यमले आफूलाई बुझ्न नसकेको गुनासो गर्दै उनले अब त्यस्ता संस्थासँग रहेको आबद्धता तोड्ने घोषणा गरे । आगामी एक सय दिनको कार्ययोजना तयार गरिरहेको श्रेष्ठको भनाई छ ।

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठका अनुसार सरकारले कोभिड – १९ विरुद्धको थप डेढ करोड खोप खरिद गर्न लागेको हो । खोप खरिद तथा व्यवस्थापन आफ्नो उच्च प्राथमिकतामा रहेको समेत उनले सुनाए । सरकार तेस्रो लहरको तयारीमा जुटिसकेको राज्यमन्त्री श्रेष्ठको भनाई छ । उनले ८ लाख डोज खोप तत्काल आउन लागेको र एक सातामा थप १६ लाख खोप आउन लागेकोसमेत जानकारी दिए ।

रोटरी क्लब काठमाण्डपले राजमन्त्री श्रेष्ठलाई गरेको सम्मान कार्यक्रममा उनले १२ बर्ष भन्दा माथिका सबै नेपालीलाई करिब ५ करोड ५० लाख डोज खोप आवश्यक रहेको बताए ।

  खोप व्यवस्थापन गर्न सक्छु भन्ने हिम्मतसाथ काम गरिरहेको भन्दै त्यसको चाँडो व्यवस्थापन हने दावी गरे । भारत, चीन र अमेरिकाबाट ९७ लाख डोज खोप आइसकेको छ । अहिले ७ लाख खोप स्टकमा रहेकोले त्यसलाई धमाधम लगाउने काम छ ।

 खोपको प्राथमिकतामा अग्रमोर्चामा रहेका व्यापारी, पर्यटन क्षेत्रका मानिसहरु, स्वास्थ्य कर्मी, शिक्षक, विद्यालयका स्टाफ, सार्वजनिक गाडीका चालक, सहचालक लगायत रहेको राज्यमन्त्री श्रेष्ठको भनाई छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com